खोप अनिवार्य गर्ने, ‘लकडाउन’ नगर्ने

182.83k
Shares

कपिल काफ्ले, काठमाडौं ।

छिमेकी भुटानलगायत विश्वका दर्जनौं मुलुकको सफल अभ्यासलाई पछ्याउँदै नेपालले पनि खोप अनिवार्य गर्ने तर ‘लकडाउन’ नगर्ने नीति लिनु आवश्यक भएको छ ।

मुलुकमा पछिल्लोपटक लकडाउन खुकुलो बनाइएपछि कोरोना संक्रमितको संख्या बढेर दैनिक पाँच हजारको निकट पुगेको र मृतक औसत ३० रहेको अवस्थालाई देखाएर पुनः बन्दाबन्दीतिर फर्किने कि अन्य विकल्प रोज्ने भन्ने बहस शुरू भएको छ । व्यापार–व्यवसायलगायतका आर्थिक गतिविधि र पठनपाठन तथा कार्यालय सञ्चालन आदि गतिविधि रोकेर मुलुकलाई ठप्प पार्दै संक्रमितको परिमाण घटाउने विकल्प प्रत्युत्पादक भएकाले र पछिल्लो समय मुलुकमा उल्लेख्य संख्यामा खोप पनि भित्रिएकाले खोप अनिवार्य गर्ने तर ‘लकडाउन’ नगर्ने नीति लिनु सर्वपक्षीय हितकर मानिएको हो ।

भूटानको सन्दर्भमा भारतीय लेखिका निताशा कौल लेख्नुहुन्छ, ‘सानो मुलुक भुटानले कोरोना महामारीलाई जसरी नियन्त्रण ग¥यो, त्यस किसिमले नियन्त्रण गर्न ठूलो स्रोतसाधन भएका सम्पन्न मुलुकहरूले पनि सकेनन् ।’ हुनपनि भुटानमा कोरोनाका कारण केबल दुई व्यक्तिको मात्र ज्यान गएको विवरण विश्व स्वास्थ्य संगठनले दिएको छ । हुन त उत्तर कोरिया, तुर्कमिनिस्तानलगायत विश्वका १० मुलुकको अवस्था भुटानको भन्दा पनि राम्रो हो कि जस्तो लाग्छ, किनभने त्यहाँ कोरोनाका कारण मृत्यु भएको अभिलेख नरहेको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार तुर्कमिनिस्तान, पपुवा न्युगिनी, भ्याटिकन सिटी, मकाउ, डोमिनिकन, ब्रुनाई लगायतका केही मुलुकमा कोरोनाका कारण कोही पनि हताहत भएका छैनन् । तर, कोरोना संक्रमणको प्रारम्भिक कालमा केही महिनासम्म नेपाल पनि सुरक्षित रहेको थियो, तत्कालीन सरकारले ‘कोरोनामुक्त मुलुक’ भन्दै पर्यटकलाई आकर्षित गर्ने प्रयास पनि गरेको थियो, तर अहिले मृतकको संख्या मात्र १० हजार नाघिसकेको अवस्था छ ।

त्यसो त भुटानमा पनि नेपालमा कोरोनाको पहिलो संक्रकित देखिएकैताका सन् २०२० को मार्च महिनामा कोभिड– १९ देखिएको हो । लेखिका कौलका अनुसार ती संक्रमित अमेरिकी पर्यटक थिए । उनमा संक्रमण देखिनासाथ भुटान सरकार सक्रियताका साथ रोगको नियन्त्रणका लागि जुन कडाइका साथ आयो त्यही कारणले त्यहाँ संक्रमण बढ्न पाएन । नेपालले पनि आइसोलेसन, प्रचार–प्रसार, कन्ट्याक्ट ट्रेसिङलगायतका विभिन्न विधि नअपनाएको होइन, तर छिमेकी भारतसँगको खुला सिमाना र अन्तर्राष्ट्रिय उडानको व्यवस्थापनमा सरकार चुक्यो । परिणामस्वरूप कोभिड संक्रमण समुदायस्तरमा फैलिंदै आजसम्ममा झण्डै आठ लाख नेपालीको शरीरमा यसले विचरण गरिसकेको अवस्था छ । यसमध्य करिब सात लाख निको भएको र ३८ हजार सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालकै जस्तो आर्थिक अवस्थाको मुलुक घानाले पनि कोभिड नियन्त्रणमा सफलता हासिल गरेको छ । मुलुकमा दुई व्यक्तिमा संक्रमण देखिनासाथ उसले लिएको तदारुकताकै कारण कोरोना नियन्त्रण हुनसकेको मानिन्छ । नेपालले जस्तै लकडाउन, सामाजिक भेलामा निषेध, आवागमनमा नियन्त्रण, विद्यालय बन्दाबन्दी, पूजापाठ तथा धार्मिक भेलामा रोक, व्यापार–व्यवसायका गतिविधिमा नियन्त्रणआदि उपाय अपनाएर उसले ठूलो क्षतिबाट आफूलाई बचायो । व्यापक रूपमा सचेतना कार्यक्रम चलाइएको र सरकारी पक्ष इमान्दार भएर प्रस्तुत भएका कारण पनि घानालाई सफलता मिलेको बताइन्छ । तर, नेपालमा राजनीतिक दल र खासगरी सत्ताधारी पार्टी नै सर्वाधिक लापर्बाही भएका कारण आम व्यक्तिमा जे गरे पनि हुन्छ भन्ने लापर्बाही सिर्जना भयो ।

विश्वका धेरै मुलुकमा यतिखेर कोरोनाविरुद्धको खोप लगाउने तर सुरक्षित रहेर दैनिक कार्यमा सहभागी हुने नीति अपनाइएको छ । छिमेकी भारतमा पनि यसै गरिएको छ । द इन्डियन एक्सप्रेसका अनुसार गुजरातको अहमदावादस्थित गुजरात टेक्नोलजिकल युनिभर्सिटीले १८ वर्षमाथिका सबै विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउनै पर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाका साथै शैक्षिक गतिविधि भने नियमितरूपमा सञ्चालन गरिने भएको छ । खासगरी हिउँदे परीक्षामा सरिक हुनका लागि खोप लगाएको प्रमाण साथै संलग्न गरी फाराम भर्न भनिएको छ । तर, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भने खोप इच्छाधीन रहेको जनाएको छ । मन्त्रालय लेख्छ, ‘कोरोनाविरुद्धको खोप लगाउनु–नलगाउनु व्यक्तिको स्वतन्त्रताको विषय हो, तर संक्रमणबाट आफू बच्न र अरूलाई बचाउन खोप लाउनुहोस् भन्ने हाम्रो सुझाव छ ।’

यसै सातादेखि विश्वकै लामो अन्तर्राष्ट्रिय सिमाना उपभोग गर्दै आएका अमेरिका र क्यानडाले पनि आवागमन खुला गरेका छन्, तर कोरोनाविरुद्धको खोप आधारभूत मानिएको छ । अमेरिकन टुडे लेख्छ, ‘क्यानडाले कोरोनाविरुद्धको खोप लगाएका अमेरिकी नागरिकलाई सोमबारदेखि आउन दिएको छ । अब, विगत एक वर्षभन्दा लामो समयदेखि आफन्तलाई भेट्न नपाएका नागरिक यस व्यवस्थाका कारण लाभान्वित हुने भएका छन् ।’ अमेरिका र क्यानडाबीच सिमानामा सामान्य अभिलेख राखेर एक–आपसका नागरिक र स्थायी वासिन्दालाई आवागमन गर्न दिइने व्यवस्थाका कारण परिवारका सदस्यहरू दुवैतिर छरिएर बसोवास गर्दैआएका छन् ।