समितिकै सदस्यबाट परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक

182
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

संयुक्त राष्ट्र संघको शान्ति मिसन (युएन पीस किपिङ) मा जाने प्रहरी कर्मचारीको छनोट प्रक्रियाको लागि प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापाको संलग्नता भेटिएको छ ।

प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक हुनुमा परीक्षाको पूर्व तयारी गर्न र प्रश्नपत्र निर्माण गर्दादेखि मुख्य भूमिका खेल्ने सई थापासहित प्रहरी हवल्दार कुमार साह र प्रहरी परिचर सुरेश बमको मुख्य संलग्नता देखिएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रहरी महानिरीक्षक शैलेस थापा क्षत्रीलाई बुधबार बुझाएको प्रतिवेदनमा सई थापाले अर्का प्रहरी नायब निरीक्षक केशव कार्की र प्रहरी सहायक निरीक्षक अशोक कार्कीलाई परीक्षा अगावै प्रश्नपत्र दिएको उल्लेख छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले उक्त घटनामा संलग्न रहेका दोषीमाथि कारबाही हुने बताउँदै प्रश्नपत्र चोरीमा प्रत्यक्ष संलग्नता देखिएका थापालाई बर्खास्त गर्न समितिले सिफारिस गरेको जानकारी दिनुभयो । साथै समितिले प्रश्नपत्र बाहिर ल्याउन प्रमुख भूमिका खेल्ने मुख्य दोषी प्रहरी हवल्दार साह र प्रहरी परिचर बमलाई समेत नोकरीबाट हटाउन सिफारिस गरेको प्रवक्ता एसएसपी कुँवरले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालयले प्रश्नपत्र चोरी प्रकरणमा मुख्य भूमिका खेल्ने साह र बमलाई पक्राउ गरेर नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा राखिएको छ ।

गत साउन १४ गते प्रहरी नायब महारीक्षक (डीआइजी) वसन्त लामाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

करिब ५ सय पेज लामो प्रतिवेदनमा ३ जनालाई बर्खास्तसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । प्रतिवेदनमा परीक्षा समितिका अन्य सदस्यहरू यूएन शाखाका दुई एसपी अनुपम शमशेर जबरा र वेद विष्ट, दुईजना प्रहरी नायब उपरीक्षक (डिएसपी) रूपेश खड्का र सुगन्ध श्रेष्ठ समेतलाई कारबाहीको सिफारिस गरिएको छ । दुई डिएसपीलाई प्रश्नपत्र चोर्न उक्साएको आरोप लगाइएको छ ।

प्रहरी निरीक्षक दिलिप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमल्सिना, प्रहरी नायब निरीक्षक सुनिलकुमार भण्डारी, केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की र प्रहरी जवान सुनिता नेपाललाई कारबाहीको सिफारिस गरिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले छानबिन समितिको सिफारिसलाई अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

समितिले तयार पारेको प्रतिवेदनमा यूएन शाखाले १५ र १६ साउनमा प्रि–स्याट परीक्षा तोकेकोमा साउन १२ गते नै प्रश्नपत्र चोरी भएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार प्रि–स्याटको प्रश्नपत्र शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर राणाले आफ्नो दराजमा राख्नुभएको थियो भने कार्यालय समयपछि प्रहरी परिचर बमले अर्को चाबीले प्रश्नपत्र निकालेर फोटो खिचेर विभिन्न व्यक्तिलाई पठाएका थिए । परिचर बमले उक्त फोटोकपी प्रहरी हवल्दार साहको भाइबरमा पठाएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ । प्रहरी प्रधान कार्यालयले हालसम्म पुनः परीक्षाका लागि मिति तोकिएको छैन ।