नेपाली कांग्रेसको महाधिवेशन कहिले ?

182
Shares

भूपराज बस्याल, काठमाडौं ।

क्रियाशील सदस्यता लगायतका विवादकै कारण तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेपछि महाधिवेशनसम्बन्धी छलफल गर्न नेपाली कांग्रेसको बैठक आज पार्टी कार्यालय सानेपामा बस्दैछ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन नसकेपछि तल्लो तहका चुनावको मिति टरिसकेको छ भने केन्द्रीय महाधिवेशनका लागि पनि जम्मा २० दिन मात्र बाँकी छ । केन्द्रीय समितिले भदौँ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साउन २४ गतेभित्र वडा, गाउँ नगर, प्रदेश, संघीय, जिल्लाको अधिवेशन सकिसक्नुपर्ने थियो । सार्वजनिक कार्यतालिका अनुसार अब भदौं १ र २ मा हुने प्रदेशको अधिवेशन र केन्द्रीय महाधिवेशन मात्रै बाँकी छन् । तल्लो तहका निर्वाचन तोकिएको समयमा नभएपछि माथिल्लो तहका निर्वाचन पनि तोकिएको समयमा हुने देखिँदैन । निर्धारित कार्यतालिका अनुसार निर्वाचन हुन नसकेपछि पार्टीमा वैधानिक संकट आउनसक्ने भन्दै क्रियशील सदस्यतासम्बन्धी विवादमा रहेका स्थानलाई थाँती राखेर महाधिवेशन गर्नुपर्ने आवाज उठ्न थालेको छ

विवाद मिलाउन गठित समितिले विवाद मिलाउन नसकेपछि क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउने जिम्मेवारी पुनः पार्टी नेतृत्वमै फर्किएको छ । विवाद मिलाउन गठित समितिले आफूले गरेको कामको विवरणसहित साउन १२ गते पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको उक्त प्रतिवेदनमा समेत छलफल हुन सकेको छैन ।

अझै पनि समयमै महाधिवेशन गर्न सम्भव छ : रामचन्द्र पौडेल, वरिष्ठ नेता

पाटी सभापति अझै पनि जिम्मेवार भएर पार्टीको महाधिवेशन गर्ने हो भने भदौ १६ देखि १९ पार्टीको राष्ट्रिय महाधिवेशन सम्भव छ । पार्टी नेतृत्व जिम्मेवार नहुँदा समयमै महाधिवेशन हुन सकेन । यसले पार्टीमा वैधानिक संकटसमेत सिर्जना भएको छ । यदि, समयमै पार्टीको महाधिवेशन गर्न सकिँदैन भने पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन भए पनि गरौं भन्ने मेरो भनाइ हो ।

मङ्सिरसम्म सार्न सकिन्छ : विमलेन्द्र निधि, उपसभापति

तोकिएको समयमा महाधिवेशन नहुने पक्का भयो । त्यसैले मंसिरभित्र केन्द्रीय महाधिवेशन सक्ने गरी नयाँ मिति सार्वजनिक गर्नुपर्छ ।

निर्वाचन आयोग र कानुन विद्हरूसँग छलफल गरेर अब नयाँ मिति तोक्नुको विकल्प छैन । सभापतिको दाबेदारको हिसाबले महाधिवेशन छिटो होस् भन्ने मेरो चाहना हो, तर मेरो मात्रै कारणले हुने कुरा भएन । त्यसैले, सबैलाई समेट्ने गरी महाधिवेशन हुनुपर्छ । क्रियाशील सदस्यतासम्बन्धी विवादलाई मिलाएर नयाँ मिति सार्वजनिक गरेर अगाडि बढ्नुपर्छ ।

जनतालाई पूर्ण खोप दिएपछि मात्रै महाधिवेशन : गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा पूर्व उपसभापति

देशमा कोभिडको महामारी बढेको छ । सबै जनतालाई खोपको व्यवस्था गरेर महाधिवेशन गर्नु वेश हुन्छ । जनताप्रति उत्तरदायी बनेको पार्टीले पहिले जनताको स्वास्थ्यको ख्याल गर्नुपर्छ । कोरोनाको कारण लकडाउनको समयलाई शून्य समय मानेर पनि वैधानिक संकट टार्न सकिन्छ । पहिला जनता अनि वैधानिकता । यही रफ्तारमा अगाडि बढे दशंैसम्ममा सरकारले सबै जनतालाई खोप उपलब्ध गराउन सक्छ ।

यतिबेला वर्षात्को पनि समय छ । सबै खेतीपातीमा व्यस्त छन् । पहाडतिर पहिरोले गाउँ–गाउँ जाने अवस्था पनि छैन । त्यसैले सबैलाई अनुकूल हुनेगरी समय सार्न सकिन्छ । वर्षात्को समय र कोभिडलाई मध्यनजर गर्दै महाधिवेशन केही समय पर सारौं ।

महाधिवेशनमा महिलालाई प्राथमिकता दिनुपर्छ : डा. डिला संग्रौला, केन्द्रीय सदस्य

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महिलाहरू नेतृत्वमा आउनुपर्छ । राज्यको हरेक निकायमा महिलाको सहभागिता अनिवार्य हुनुपर्छ । हरेक निकायमा महिला कोटा सुनिश्चित गरिए पनि उच्च नेतृत्वमा महिलाको सहभागिता खासै हुन सकेको छैन अब प्रत्येक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्छ । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी छु । निर्धारण गरिएको समयमा चुनाव हुन नसकेपछि अब नयाँ मिति सार्वजनिक गरेर छिटोभन्दा महाधिवेशन गर्नुपर्छ । महाधिवेशन जहिले भए पनि महिलालाई प्राथमिकतामा राखिनुपर्छ ।

नेतृत्वको अनुकूलता नहुँदो मिति टरेको हो : प्रदीप पौडेल, केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समिति

क्रियाशील सदस्यता विवादका कारण होइन, नेतृत्वको अनुकूलता नहुँदा महाधिवेशनको मिति टरिरहेको छ । ९६ प्रतिशत काम सकिसकेको छ, बाँकी ४ प्रतिशतलाई थाँती राखेर फास्ट ट्रायकबाट अझै पनि समयमै महाधिवेशन गर्न सकिन्छ । समायोजनसम्बन्धी पार्टीमा प्रस्ट खाका नहुँदा ४ जिल्लाको मात्रै समायोजनको काम टुंगो लगाउन नसकेको विवाद केन्द्रीय समितिले पनि लगाउन सक्दैन ।

१३औं महाधिवेशन ३३ जिल्ला स्थगित भएर ४ लाख ७० हजारमा क्रियाशील सदस्यका बीच सम्पन्न भएको थियो भने यसपटक क्रियाशील सदस्यता झण्डै आधा बढेर ९ लाखको हाराहारीमा पुगेको छ । हाल रसुवा, सप्तरी, बारा र सिन्धुपाल्चोक गरी जम्मा ४ जिल्लामा विवाद छ, त्यो पनि नयाँ सदस्यता र समायोजनसम्बन्धी मात्रै विवाद हो यो विवाद मिलाउदा करिब २५ हजार नयाँ क्रियाशील सदस्य थपिने हो । २५ हजार सदस्यको विवादले पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।

औपचारिक निवेदन आएको छैन : राजकुमार श्रेष्ठ, प्रवक्ता, निर्वाचन आयोग

विधानतः ५ वर्षमा पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । विशेष अवस्था ६ महिना थप गर्न सकिने हुन्छ । नेपाली कांग्रेसको सन्दर्भमा अहिलेसम्म औपचारिक छलफल भएको छैन ।

कोरोनाका कारण भएको लकडाउनलाई शूून्य समय मान्ने अदालतको निर्णय कुन कुन अवस्थामा लागू हुने भन्ने बारे खुलेको छैन । शूून्य समय विषयमा आयोगमा कुनै निर्णय भएको छैन । यस विषयमा आयोगमा अहिलेसम्म कुनै औपचारिक निवेदन परेको छैन । निवेदन परेको खण्डमा आयोगले छलफल गरेर उचित निर्णय लिनेछ ।