२० युनिटसम्म खपत गर्ने ग्राहकलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेकी छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरिसकेको भन्दै विद्युत नियमन आयोगसमक्ष प्रस्ताव पठाइएको बताइन् ।

उनले आयोगले निर्णय गरेको दिनबाट महसुलदर लागू हुने जानकारी दिइन् । त्यस्तै उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् ।

मन्त्री भुसालले आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजनको निर्णय भइसकेको बताइन् । प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत् अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गरिने उनले जानकारी दिइन् ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवम् सहजीकरण तथा अनुगमन गर्ने कार्य प्रभावकारी बनाउने उनले बताइन् । त्यस्तै उनले निर्माणाधीन प्रसारणलाइनहरु तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्ने र अनुगमनको कामलाई तीव्रता दिने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्