काभ्रेका मुख्य मुख्य चोकमा ‘मास्क अभियान’

2.1k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा मातहतका प्रहरी कार्यालयको सहभागिता तथा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको सहकार्यमा कोरोना भाईरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरुमा पुगेर नागरिकहरुलाई अनिवार्य मास्क लगाउन अपिल गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा बुधबारसम्म ७ सय ६ जना सक्रिय संक्रमित छन् । दैनिक सरदर ५० भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । संक्रमण बढिरहँदा अस्पतालमा विरामी भर्ना हुने क्रम बढेको छ । भाईरस फैलन नदिन प्रहरी कार्यालय मार्फत शुरु गरिएको मास्क अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई अपिल गरिएको छ ।

‘कोभिड १९ को संक्रमण दर पुनः बढ्दै जाँदा मानिसहरुले मास्क लगाउन छाडेका छन्’–प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भन्नुभयो–‘सबै नागरिकहरुले मास्क लगाएर संक्रमण फैलन नदिन तर्फ सचेत गराउने उदेश्यले अभियान शुरु गरिएको हो ।’ प्रहरीले आयोजना गरेको कार्यक्रमको पहिलो दिन धुलिखेल नगरपालिकाको सरस्वती बजार, बसपार्क, विपी राजमार्ग तथा बजार र पसलहरुमा रहेका ब्यक्तिहरुले मास्क नलगाएको अवस्थामा मास्क उपलब्ध गराउँदै नियमित मास्क लगाएर संक्रमण फैलन नदिन सहयोग पु¥याउन अपिल गरिएको थियो ।

अभियानमा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कालीजंग गण धुलिखेलका प्रमुख कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनार, स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झा, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मंगलबार धुलिखेलमा झण्डै ५ सय मास्क वितरण गरिएको थियो ।

बुधबार दिउसो बनेपाको चोकबाट अभियान शुरु गरी विभिन्न बजारमा परिक्रमा गरी मास्क अभियान मार्फत नागरिकहरुमा नियमित मास्क लगाउन अपिल गरिएको थियो । बनेपामा आयोजित कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय र स्वास्थ्य कार्यालयको टोली, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा, बनेपाका स्थानीय तथा नागरिक समाजका प्रतिनिधिहरुको अभियानमा सहभागिता रहेको थियो । प्रहरीले मुख्य मुख्य शहरका चोकहरुमा भिडभाड हुन नदिन र भिडभाड भएका क्षेत्रहरुमा समेत अनिवार्य मास्क लगाउन तथा सबै नागरिकहरुलाई विना मास्क ननिस्कन अनुरोध गरेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।