पुजारी हत्याका योजनाकार धरौटीमा छुटे

364
Shares

सञ्जय कार्की, रौतहट ।

कोरोना परिक्षण बिनानै एक जना हत्याका आरोपी लाई जिल्ला अदालत गौरले हाजीर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ । म्याद थपका प्रतिवादीको समेत कोरोना परिक्षण प्रतिवेदन माग्ने जिल्ला अदालत गौरले एक बर्षदेखि फरार रहेका पुजारी हत्याकाण्डका एक जना प्रतिवादी लाई हाजीर भएकै दिन कोरोना परीक्षण बिना नै धरौटी लिएर छाडन आदेश गरेको छ ।

हत्या आरोपी जिल्ला अदालत गौरमा उपस्थित हुँदा प्रहरी लाई समेत जानकारी नगराईकनै आदेश भएको हो । गएको भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्याका योजनाकार भनिएका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहसँग २ लाख धरौटीमा बाहिर बसेर पुर्पक्षको लागि आदेश गरेको छ ।

पुजारी श्रीराम साहको हत्याकाण्डमा प्रहरीले सात जना आरोपी लाई प्रतिबादी बनाएपनि फरार रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह भने जिल्ला अदालत गौरमा सुटुक्क हाजिरकै दिन न्यायधिश श्यामबिहारी मौर्यको ईजलासले धरौटी रकममा छाडने आदेश दिनुभएको हो ।

उनै न्यायधीश श्याम बिहारी मौर्यको ईजलासले सोही घटनाका आरोपी देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ बर्षिय राम नरेशराउत पटेल र २८ बर्षिय बालकुमार पटेल लाई २०७७ कार्तिक १९ गते तत्कालका प्रमाणहरुबाट प्रतिबादीहरु कसुरदार होईनन् भन्न सक्ने अवस्था नरहेकोले पछि प्रमाण बुझदै जादा ठहरे बमोजीम हुने गरि हाल रामनरेश पटेल र बालकुमार पटेललाई मुलुकी फौजदारी कार्यबिधि २०७४ को दफा ६७९१० बमोजिम पूर्पक्षको लागी थुनामा राख्ने आदेश गर्नुभएको थियो ।

हत्याकाण्डमा संलग्न चार जना प्रतिबादी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शिध्दि बिक्रम शाहले बताउनु भयो । पुर्पक्षका लागी कारागार चलान भएका पटेल द्वयले प्रहरी समक्ष शेख नुरुल्लाहकै योजना अनुसार बन्दुक र गोली मगाएर हत्या गरेको बयान दिएका थिए । उनीसहित मस्ताज देवान, रामप्रवेश राउतकुर्मी, मोहम्मद कासिम र राजेन्द्रराउत कुर्मीको समेत संलग्ता भन्दै प्रहरीले प्रतिबादी बनाएको थियो ।

उनीहरु अझै फरार रहेका छन् । प्रहरीको अनुसन्धान पछि जिल्ला न्यायधिवक्ताको कार्यालयले पूजारी साहको हत्या आरोपी सातैजना माथि कर्तव्य ज्यान र संगठित अपराधमा सजाय माग दाबी सहित जिल्ला अदालत गौरमा मुद्धा पेश गरेको थियो ।

जिल्ला न्यायधिवक्ता शुभाषकुमार भट्टराईले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बरमा जाने बताउनु भयो । अदालतमा हाजिर भएका शेष नरुल्लाहले हत्यमा संलग्नता नरहेको भनेर ईन्कारी बयान दिएपछि धरौटीमा रिहा भएको अदालतका तसलिदार निधिराम दाहालले बताउनु भयो ।