मेची नदीले बगायाे ११२ नम्बरकाे मुख्य सीमा पीलर

1.3k
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीको लापारबाहीका कारण सीमा क्षेत्रमा राखिएको एउटा मुख्य सीमा पिलर बगाएको छ । केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेसगै झापा कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा राखिएको ११२ नम्बर सीमा पिलर बगाएको हो ।

स्थानीय सरकार , जिल्ला प्रशासन लगायतका निकायको वेवास्तका कारण सीमा पिलर बगाएको छ । नदीले तटीय क्षेत्र कटान गर्ने क्रममा सोमबार अपरान्ह् सीमा पिलर बगाएको स्थानीयले जनाएका छन् ।

मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो । पिलर नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले सुरक्षा दिइरहेको उहाँले बताउँनुभयो । सशस्त्र प्रहरीको पोस्ट पनि बगाउने अवस्था पुगेको उहाँको भनाइ छ । नदीले तटीय क्षेत्र कटान गर्ने क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको स्थानीय कमल गणेशले बताउँनुभयो । त्यसबेला पिलर मात्र बाँकी थियो, पिलर पनि बगाएर लग्यो उहाँको भनाइ छ ।

पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ, पूर्वतर्फ नेपाली बस्ती। ‘समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो,’ उहाँले भन्नुभयो । मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाएर लैजाने खतरा बढेको सो क्षेत्रका नागरिकको भनाइ छ ।

सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकाय जानकार भएपनि कोरोना महामारीका कारण देखाउँदै त्यसलाई जोगाउन नसकिएको पाइएको छ । नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा पिलरहरू केही समस्या देखिएमा संयुक्त रुपमा काम गर्नुपर्ने दुवै देशको सरकारको नीति छ । कोरोनाले गर्दा डेढ वर्षदेखि झापासँग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको डिएसपी भण्डारीले बताउँनुभयो ।