हेवेन र लक्ष्मीलाई भारतबाट उपाधि

700
Shares

नेपाली चेली हेवेन उपाध्याय र लक्ष्मी महर्जनले भारतको ला ग्रेभिटी नामक संस्थाले हालै आयोजना गरेको खामोसी विथ लाइफ नामक अनलाइन प्रतियोगितामा उपाधि हासिल गरेका छन्।

कोरोना कालमा सुन्न तथा बोल्न नसक्ने व्यक्तिहरूले गरिरहेका सामाजिक कार्यलाई लिएर आयोजना गरिएको उक्त प्रतियोगिताको पाँचौं संस्करणमा सहभागी चैनपुर निवासी २० वर्षीया हेवेनले अन्तर्राष्ट्रियतर्फको मिस खामोसी डेफ २०२१ को उपाधि चुमिन्। त्यस्तै, काठमाडौंकी २५ वर्षिया लक्ष्मी महर्जनले मिस खामोसी डेफ २०२१ को इन्टरनेसनल क्याटेगोरीमा फस्ट रनरअपको उपाधि जितिन्। उनीहरूले विजेता भएबापत क्रमशः जनही १६ हजार र ७ हजार रुपियाँ नगद पुरस्कार पाएका छन्। हेवेन र लक्ष्मी श्रवण र वाक्यविहीन छन्। तर, पनि प्रतिभामा भने अब्बल र सक्षम छन्।

हेवेनले पसलबाट सामान खरिद गरेर सडकमा रहेका, बोल्न र सुन्न नसक्ने, दृष्टिविहीन तथा आवश्यकता परेका व्यक्तिहरूलाई खानेकुरा बाँडेको भिडियो प्रस्तुत गरेकी थिइन् भने लक्ष्मीले चित्रकलाको माध्यमबाट कोरोनाकालमा मास्कको प्रयोग कसरी गर्ने भन्नेबारे एक भिडियो प्रस्तुत गरेकी थिइन्।

प्रतियोगितामा राष्ट्रियतर्फको मिस डेफको उपाधि भने भारतको बेेंग्लोर निवासी २१ वर्षीया श्वेता गोश्वामीले जितेकी छिन्। श्वेताले कोरोना कालमा घरमा खाना बनाएर सडकका भोका कुकुरलाई खाना खुवाइरहेको भिडियो पठाएकी थिइन्। उनले नगद १६ हजार रुपियाँ पुरस्कारस्वरूप जितेकी थिइन्। त्यस्तै, प्रतियोगितामा नागाल्यान्डका सामनाल चुइलो अर्को फस्ट रनर्सअप घोषित भए। उनले घरबाट निस्किने फोहोरबाट कम्पोस्ट मल बनाएर कौशीका गमलामा प्रयोग गरेर फोहोर व्यवस्थापन गरेको भिडियो सेयर गरेका थिए। उनले ४ हजार ३ सय ६० रुपियाँ जितेका थिए। बंगलादेशको बोगराकानईम ईश्लाम भने युच अभिभर्स अवार्डका लागि चुनिए।

संसारभरका बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरूलाई सशक्त, बनाउने उद्धेश्यले नेपाल, भारत, नाइजेरियालगायत ७७ देशका ७७ जना व्यक्तिले सहभागिता जनाएको प्रतियोगितामा प्रतियोगीहरूले कोरोना कालमा समाज तथा पर्यावरणका लागि रचनात्मक ढंगले गरिएका कार्यलाई आधार मानेर १५ जनालाई सर्ट लिस्टमा समावेश गरिएको थियो।