स्वास्थ्य बिमा : उपचारमा वरदान, प्रक्रिया झन्झटिलो



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिका–१३ भैंसेपाटीमा बसोबास गर्ने संगीता बुढाथोकीले सरकारले गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भई दुई वर्षदेखि सेवा लिइरहनुभएको छ । तीन हजार ५ सय रुपैँयामा परिवारका पाँच जना सदस्यको एक लाख रुपैंयाको स्वास्थ्य बिमा गराउनुभएकी संगीता र उहाँकै दिदी सीता बुढाथोकीले बिमाको सेवा लिइरहनुभएको छ । ‘बिमा गराएर खुसी मात्रै होइन सन्तुष्ट छौं, आय श्रोत नहुनेहरूका लागि स्वास्थ्य बिमा कार्यक्रम वरदान सावित भएको छ’– संगीता बुढाथोकीले भन्नुभयो ।

संगीता बुढाथोकी र उहाँकै दिदी सीतालाई सुगर, थाइराइड लगायतका रोगहरू छन् । हरेक महिना नियमित रगत लगायतका परीक्षण गरी औषधि खरिद गर्दा प्रतिव्यक्ति पाँच हजारभन्दा धेरै खर्च हुने गरेको छ । उक्त खर्च बिमाबापत धुलिखेल अस्पतालले निःशुल्क गरिदिने गरेको छ ।

‘हामी आयश्रोत नभएका व्यक्तिहरूका लागि बिमा कार्यक्रमले आर्थिक र पारिवारिक बोझबाट पन्छाएको छ’– संगीताले भन्नु्भयो–‘सरकारले बिमा कार्यक्रममा समावेश नभएका उपचार पनि समावेश गरिदिए झनै सहज हुनेछ ।’

संगीताले पहिलो वर्षको बिमा कार्यक्रमको सेवा लिई दोश्रो वर्षको समेत नवीकरण गराउनुभएको छ । गरिब, असहाय, कम आय श्रोत भएका नागरिक तथा उपचार गर्न नसक्ने नागरिकहरूका लागि स्वास्थ्य बिमा प्रभावकारी रहेको उहाँको अनुभव छ ।

संगीता र सीता जस्तै बनेपा ३ नाला सुमाराबाट उपचारका लागि आउनुभएकी देवकी दाहालले पहिलो पटकको सेवामै सन्तुष्टि प्राप्त गरेको बताउनुभयो । ‘पैसा तिर्ने र बिमा गरेका बिरामीहरूका लागि फरक खालको सेवा छैन, सबैलाई समान ढंगले सेवा दिने धुलिखेल अस्पतालको व्यवहार चित्त बुझ्यो’– दाहालले भन्नुभयो–‘हरेकपटक जचाउँन आउँदा लाग्ने पैसा र परीक्षणबापतको रकम भुक्तानीमा हुने खर्च जोगिँदा पनि धेरै राहत महसुस हुँदोरहेछ ।’

पनौती नगरपालिका–७ की अनिता श्रेष्ठले बिमाबापतको सेवा प्रभावकारी भए पनि सबै खालको औषधि नहुँदा कहिलेकाही समस्या हुने बताउनुभयो । छाला तथा अन्य केही रोगको उपचार भए पनि औषधि सहज नहुँदा बिरामीहरूलाई केही असहज भए पनि स्वास्थ्य बिमा प्रभावकारी भएको बताउनुभयो । अस्पतालमा बिरामी धेरै आउने भएकाले समयमै पालो पाउन मुस्किल भएको उहाँको गुनोसो छ ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउँदै नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्यअनुरूप धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र दोलखा जिल्लाका बिरामीहरूका लागि प्रथम बिन्दु तोकेको छ ।

जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र मेथिन्कोट अस्पताललाई पनि प्रथम बिन्दु तोके पनि ती संस्थाहरूले सेवा शुरू नगर्दा धुलिखेल अस्पतालमा बिरामीको चाप भएको स्वास्थ्य बिमा बोर्ड काभ्रेकी दर्ता अधिकारी मुना निरौलाले बताउनुभयो । धुलिखेल अस्पतालमा एकै दिन ७/८ सय बिमित व्यक्तिहरूको परीक्षण गरिएको धुलिखेल अस्पतालका बिमा दाबीकर्ता विनोद दाहालले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा धुलिखेल अस्पतालमा उपचार गराएका ८५ हजार ७ सय ८९ जना बिरामीहरूको दाबी भुक्तानी गरिएको भए पनि ५३ हजार ९ सय ९४ जनाको उपचार गराए बापतको भुक्तानी हुन सकेको छैन ।

३१ हजार ७ सय ९५ जनाको दाबी भुक्तानीबापत बिमा बोर्डले असार मसान्तसम्ममा ९ करोड २५ लाख प्राप्त भएको छ । झन्डै १२ करोड बिमाबापतको भुक्तानी हुन नसकेको अस्पतालका प्रशासकीय निर्देशक रमेश माकजुले बताउनुभयो ।

अन्य भुक्तानीसमेत गरी झन्डै १७ करोड रुपैयाँ बिमा बोर्डबापतको भुक्तानी हुन नसकेको उहाँले बताउनुभयो । धुलिखेल अस्पतालमा सरकारले कोरोना बिमाको निःशुल्क उपचार गराइरहेको छ । त्यसबापत अस्पताललाई सरकारले उपचारबापतको भुक्तानी गर्ने गर्दछ । ‘बिमाबापतको १७ करोड र कोरोना उपचारबापतको सात करोड गरी २४ करोड रकम प्राप्त हुन बाँकी छ’–प्रमुख प्रशासकीय निर्देशक रमेश माकजुले भन्नुभयो– ‘कोभिडका कारण विद्यार्थी भर्ना गर्न नसकेको तथा अन्य श्रोतहरूको कमि, समयमै भुक्तानी नहुँदा समयमै कर्मचारीहरूलाई पारिश्रमिक दिन सकिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्