राष्ट्रिय जनगणना २०७८ अन्योलमा


विनोद अधिकारी, काठमाडौैं ।

सरकारले हरेक १० वर्षमा गर्दै आएको राष्ट्रिय जनगणनाको १२औं संस्करण अन्योलमा परेको छ । केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने यस वर्षको राष्ट्रिय जनगणना २०७८ जेठ २२ देखि असार ८ सम्म गर्ने समय तालिका तय गरिएको थियो । कोभिड–१९ को दोस्रो लहर फैलिंँदै गएपछि विभागले गएको वैशाख २१ गते सूचना निकालेर स्थगित गरेको थियो ।

विभागको असार ९ गते बसेको अर्को बैठकले कोभिडको दोस्रो लहरको साउनदेखि असोजसम्मको प्रभावलाई मूल्यांकन गरी जनगणनाको अर्को नयाँ मिति तथा कार्यतालिका सार्वजनिक गर्ने पनि निर्णय गरेको थियो । हालको परिस्थितिका कारण विभागले नयाँ निर्णय गर्न सक्ने अवस्थामा छैन विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुुभयो । ‘जनगणनाका लागि जिल्ला तहमा स्थापना भएका कार्यालयहरू पनि तयारी अवस्थामैै रहेका छन् । सुपरिवेक्षकहरूलाई तालिम दिने काम पनि सम्पन्न भइसकेको थिएन भने गणकहरूलाई दिइने तालिम बाँकी रहेकोले महामारीको प्रभाव सामान्य हुँदै गएपछि मात्र नयाँ कार्य तालिका बनाएर कार्यक्रम अगाडि बढाइनेछ’– लामिछानेले बताउनुभयो ।

हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणना नेपालमा विसं १९६८देखि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले प्रारम्भ गरेका थिए । पाँचौँ जनगणना विसं २००९ देखि २०११ मा सम्पन्न भएको थियो । यसलाई नै पहिलो आधुनिक जनगणना मानिएको छ ।
संयुक्त राष्ट्रसंघले तोकेको जनगणनाका बहुआयामिक विशेषताहरूलाई समेटेर गरिएको थियो । प्राविधिकरूपमा समस्या आएपछि सो जनगणना विसं २००९ मा नेपालको पूर्वी क्षेत्रमा तथा २०११ मा पश्चिमी क्षेत्रमा गरी दुई चरणमा सम्पन्न गरिएको थियो ।

पछिल्लो जनगणना विसं २०६८ मा गरिएको थियो जस अनुसार नेपालको जनसंख्या दुई करोड ६६ लाख २० हजार ८ सय ९ रहेको विभागको तथ्यांकमा देखिन्छ । यो अघिल्लो जनगणना (२०५८) को तथ्यांकभन्दा ३४ लाख ६९ हजार तीन सय ८६ संख्या बढी हो । पाँचौं जनगणनाबाहेक हरेक १० वर्षको फरकमै जनगणना सम्पन्न भएको देखिन्छ ।

विसं २०७२ सालमा जारी गरिएको नेपालको संविधानको धारा २८१ मा जनगणनाको उल्लेख गरिएको छ । निश्चित भौगोलिक वा राजनीतिक क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूको सामाजिक आर्थिक भौगोलिक शैक्षिक तथा जनसांख्यिक विशेषताहरू संकलनको काम जनगणनाले गर्दछ । नेपालको सन्दर्भमा स्थानीय निकायसम्म कार्यक्रमहरू लैजान, योजना निर्माण गर्न, कार्यान्वयन तथा त्यसको प्रभावकारी अनुगमनका पनि राष्ट्रि«य जनगणनाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

गणनाको कामभन्दा पहिले गर्नुपर्ने तयारीका कामहरू नै बाँकी रहेका तथा साउनदेखि कोभिडको प्रभाव झन् बढ्दै गएको र सम्पूर्ण नागरिकलाई खोपको सुनिश्चितता भई नसकेको हुँदा राष्ट्रिय जनगणना २०७८ अन्योलमा परेको छ ।