नाक्चेलाग्ना नाका बन्द हुँदा मुगुवासी समस्यामा

322
Shares

वीरबहादुर बम, मुगु ।

सदरमुकाम गमगढीबाट ९३ किलोमिटर टाढा रहेको मुगुमार्कारोङ गाउँपालिका र तिब्बत जोड्ने नाक्चेलाग्ना नाका दुई वर्षदेखि बन्द हुँदा मुगुमार्कारोङ गाउँपालिकाका स्थानीय बासिन्दा प्रत्यक्ष समस्यामा परेका छन् ।

नाक्चेलाग्ना नाका दुई वर्षदेखि बन्द हुँदा तिब्बतको हर्वामा हाटबजार दुई वर्षदेखि लाग्न सकेको छैन । आफूलाई वर्षभरि पुग्ने खाद्यान्न लत्ता कपडादेखि अन्य दैनिक उपभोग्य सामग्री यही हाटबजारबाट जोहो गरेर ल्याउने मुगुमार्कारोङवासीले दुई वर्षयता एकतर्फीरूपमा तिब्बतले नाका बन्द गर्दा स्थानीयबासी समस्यामा परेका हुन् ।

यो क्षेत्रमा वर्षभरि गरेको खेतीले तीन महिना पनि खान नपुग्ने मुगुमार्कारोङ गाउँपालिका सूचना अधिकारी तीर्थराज शाहीले बताउनुभयो । दुई वर्ष यताबाट तिब्बत सकारले खबर नपठाएको र सरकारी निकायले समेत नाका खुल्न कुनै पहल गरेको गुनासो मुगुमार्कामारोङ गाउँपालिका–२ का वडा अध्यक्ष कार्मा तामाङले बताउनुभयो ।

‘अहिले नाका बन्द हुँदा केही गतिविधि हुन सकेको छैन । स्थानीयवासीले चार, पाँच दिन लगाएर गमगढीबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ’– गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । सीमा क्षेत्रका बासिन्दाले संकलन गरेको यार्सागुम्बा, जडिबुटीको मुख्य बजार नै हर्वामा लाग्ने हाटबजार हो ।

हरेक वर्ष २० देखि ३० करोड रुपियाँ बराबरको यार्सागुम्बालगायत अन्य जडिबुटीसमेत यो नाकाबाट तिब्बतीहरूसँग कारोबार गर्ने गरेका थिए । दुई वर्षयता नाका बन्द हुँदा स्थानीयले यार्सासमेत संकलन गरेका छैनन् ।