प्रधान सेनापतिको कार्यभार हस्तान्तरण

308
Shares

काठमाडौं (नेस) ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको ३ वर्षे कार्यकाल भदौ २४ गते पूरा हुनुभन्दा एक महिना घर बिदा बस्ने प्रचलनअनुरूप आज मंगलबारदेखि बिदा लिनुभएको छ ।

उहाँले सम्हाली आउनुभएको प्रधान सेनापतिको कार्यभार कायममुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई सोमबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको छ ।

प्रधान सेनापति थापाले नेपाली सेनाले बलाधिकृत रथी शर्मा एक अनुभवी र क्षमतावान् नेतृत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा नेपाली सेना थप पेसेवर हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसै गरी बलाधिकृत रथी शर्माले नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अत्यन्तै व्यवस्थित र सहजीकरण गरिदिनु भएकोमा प्रधान सेनापति थापालाई आभार व्यक्त गर्दै सैनिक संगठनमा सामूहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्व रहेको चर्चा गर्दै विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै सुधारका विषयहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसअघि प्रधान सेनापति थापाले पद्दति र प्रणालीको सुदृढीकरणमा सबैको योगदान हुनुपर्ने तथा नेपाली सेनाका सकल दर्जाले सिपाहीको विशिष्ट चरित्रलाई सदैव कायम राख्नुपर्नेमा जोड दिनुभयो ।