कोरोनाले उपत्यकाका धार्मिक जात्रा प्रभावित

210
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि नेवार समुदायको महत्वपूर्ण गुँला पर्व प्रभावित भएको छ । काठमाडौं उपत्यकामा हुने अन्य धार्मिक जात्रा, पर्वहरू प्रभावित भएको छ ।

यस वर्षको गुँला पर्व सोमबार शुरू भएको छ । श्रावण शुक्ल प्रतिपदाका दिनदेखि भदौ कृष्ण औंशीसम्म यो पर्व विशेष गरी काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरूमा मनाइने गरिन्छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमले गर्दा ती पर्व र परम्परा सञ्चालन गर्न नसक्ने गुठी संस्थाले निर्णय गरेको छ ।

काठमाडौंमा भने यस पर्वमा अवसरमा स्वयम्भूमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ । नेवार समुदायका मूलतः बौद्ध धर्मावलम्बीले एक महिनासम्म स्नान गरी परम्परागत नौ बाजा बजाएर साथ स्वयम्भू, महाचैत्य, सेतो मच्छिन्द्रनाथ र विभिन्न महाविहार चैत्य दर्शन गर्ने र आसपासका स्थलको परिक्रमा गर्ने चलन छ । यो वर्ष भने गुँला पर्वमा स्वयम्भू परिक्रममा र बाजागाजा बजाउने सम्पूर्ण कार्यहरू बन्द गरिएको गुँला बाजा सम्बद्ध गुठीले जनाएको छ ।

गुँला पर्वकै बेला ललितपुरको धापाखेलमा हुने नाग पञ्चमी (नागदह मेला), जनैपूर्णिमा (कुम्भेश्वर मेला), गाईजात्रा नगर्ने निर्णय गरिसकेको छ । त्यसै गरी पशुपति देवपत्तन खड्ग जात्रा, पञ्चदान पर्वका सम्पूर्ण कार्यहरू बन्द गरिएको छ । त्यसै गरी न्यंकू जात्रा मतया व्यवस्थापन समिति क्षेत्र नं ८ इखालखुले अहिलेको अवस्था मतयाः पर्व सीमित मानिसहरू मात्र बसेर गर्ने भएका छन् ।
त्यस्तै, ब्वगी वनेगु (ललितपुरका चैत्य र स्तुपामा बिहान घुम्ने) कार्य सोमबार मानिसहरू मात्र बसेर विधि पुर्‍याउन हिसाबले शुरू गरिएको छ । परम्परागत बाजागाजा केही नराखी ब्वगी वनेगु कार्य शुरू गरिएको थियो ।

सो पर्व लिच्छिविकालीन राजा बालार्चन देवको पालादेखि हुँदै आएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भीडभाड नहुने गरी नित्य पूजा वा विधि पुर्‍याउने हिसाबले पूजाआजा मात्र गर्न स्वीकृति दिएको बताउनुभयो । निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमित र मृत्यु हुँनेको संख्या बढ्दै गएकोलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पूजाआजा गर्न आग्रह गर्दै आएको पनि बताउनुभयो ।

त्यसै गरी भक्तपुर प्रशासनले पनि यस वर्ष गुँला पर्वका कुनै पनि गतिविधि नगर्ने आग्रह गरेको छ । छ गुँला पर्वकै समयमा गाईजात्रालगायत अन्य कुनै पर्व नहुने सीमित मानिसहरू मात्र बसेर गर्न आग्रह गरेको छ । महिनैपिच्छे जात्रा र उत्सव हुने भक्तपुरमा कोरोनाका कारण एकपछि अर्को जात्रा–पर्वहरू प्रभावित भएका छन् ।