नेपाल समूहबिना नै अघि बढ्यो एमाले, भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन

476
Shares

काठमाडौं ।

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ ।

एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने पनि प्रस्तावित संशोधनमा उल्लेख गरिएको तामाङले बताउनुभयो । विधान संशोधन पारित भएसँगै केन्द्रीय कमिटी २ सय २५ जनाको राख्ने, पार्टीले उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने पनि प्रस्तावित विधानमा उल्लेख छ ।

विधान महाधिवेशनका निम्ति पार्टीले चारवटा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । ती समितिहरूले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेश गरिनेछ ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली आफैं रहनुभएको छ भने सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहनुभएको छ । त्यसै गरी संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा ईश्वर पोखरेल रहनुभएको छ भने सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहनुभएको छ । विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल र सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह रहनुभएको छ । त्यसै गरी व्यवस्थापन समितिको संयोजनमा राम बहादुर थापा र सदस्यहरूमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहनुभएको छ ।

अध्यक्ष ओली समूहको केन्द्रीय कमिटीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

नेपालमाथि ओलीको कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको नाममा अब धेरै समय कुर्न नसकिने बताउनुभएको छ । उहाँले एमालेमा फर्किएर काम गर्न चाहनेका लागि जहिले पनि स्वागत रहेको भन्दै अब कसैलाई पर्खेर नबस्ने बताउनुभयो । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्ला कमिटीका गतिविधिहरू नरोक्न निर्देशन पनि दिनुभयो । पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै उहाँले माधवकुमार नेपाल पक्षमा लागेका तर पार्टीको जिम्मेवारी लिन चाहनेलाई बिना संकोच जिम्मेवारी दिन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो ।

नेपाल पक्षले आफूलाई सच्चिने अन्तिम मौका भनेर फरमान जारी गरेको भन्दै आक्रोशित मुद्रामा अध्यक्ष ओलीले भन्नुभयो–‘मलाई सच्चिने अन्तिम मौका छ, माफी माग भनेछन् । अब मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने ?’
अविश्वासको प्रस्तावविरुद्ध सत्तापक्षका सांसद सर्वोच्चमा (ठुलो)