हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

350
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए ।

समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको क्रममा रहेका र २२ वटा पुनःनिर्माण शुरू नै नभएको जानकारी दिनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा विभिन्न निकायले पुनःनिर्माण गरिरहेको छ ।

समितिका अनुसार दरबार क्षेत्रका सम्पदामध्ये केहीको पुनःनिर्माण गर्ने जिम्मा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र विकास समिति, उपभोक्ता समिति र संसद विकास कोषले लिएका छन् ।

तीमध्ये उपभोक्ता समिति र विभागको काम द्रुत गतिमा भइरहेको छ । युनेस्को विश्वसम्पदा समितिको हालै सम्पन्न बैठकले काठमाडौं उपत्यकाका सम्पदालाई खतरा सूचीबाट हटाएको छ । त्यसलगत्तै पुनःनिर्माणले तीव्रता पाउन थालेको जनाइएको छ ।

हनुमानढोकाभित्रको मूलचोक, नासलचोक, टागाछें, माजुदेगः, दुर्गा मन्दिर, काष्ठमण्डप, कालिका, भाजु चोकको दक्षिण र उत्तर भाग, दाखः चोकको दक्षिणी भाग, काशी विश्वनाथ, नील बाराही लगायतका सम्पदा पुनःनिर्माण सकिने चरणमा छन् ।

कार्यकारी निर्देशक खनालले हाल पुनःनिर्माणको क्रममा रहेका सम्पदाहरूमध्ये झण्डै एक दर्जन सम्पन्न हुने चरणमा रहेको जानकारी दिनु्भयो– ‘कतिपय कोभिडको कारण त कतिपय कुन निकायले पुनःनिर्माण गर्ने भन्ने विषयमा विवाद देखिएकोले केही ढिलाइ भएको हो ।’

हाल हनुमानढोका दरबार परिसरमा रहेको काष्ठमण्डप उपभोक्ता समितिले, सांसद विकास कोषमार्फत जगन्नाथ मन्दिर, पुरातत्व विभागबाट दश अवतार र कम्फुकोटको पुनःनिर्माण भइरहेको छ । कामपा हनुमानढोका विकास समितिले जिम्मा लिएको नव आदर्श स्कुल रहेको भवन, कुमारीघर, शिवपार्वती, महाविष्णु मन्दिर पुनःनिर्माण शुरू भएको छैन ।

कामपाले उपभोक्तामार्फत दिने कि आफैंले पुनःनिर्माण गर्ने भन्ने विषयमा निर्णय हुन नसक्दा आगम छेःको निर्माणमा अन्योल कायम छ । समितिका कार्यकारी निर्देशक खनालले भन्नुभयो– ‘सबै निकायको सहमति भएमा आगामी तीन वर्षभित्र सबै सम्पदा पुनःनिर्माण हुनेछ ।

समितिका अनुसार हाल नासल चोकको पश्चिम लङ, राणाकालीन सेतो दरबार, पृथ्वीनारायण शाहको सयन कक्ष, फरासखानालगायतका केही संरचना पुनःनिर्माणको अन्तिम चरणमा रहेका छन् । विभागले चालु आवमा हनुमानढोका दरबार क्षेत्रको सम्पदा पुनःनिर्माण गर्न करिब १५ करोड रुपियाँ विनियोजन गरेको छ ।

नौ तले दरबार पुनःनिर्माण दुई वर्षदेखि ठप्प

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम ठप्प छ । कोभिड–१९ का कारण चिनियाँ कामदार फर्किएपछि २०७६ चैतदेखि पुनःनिर्माण ठप्प भएको हो ।

‘टर्न कि परियोजना’अनुसार पुनःनिर्माण भइरहेको सो दरबार अन्तिम चरणमा पुग्दा काम रोकिएको हो । काम चीन सरकारले कोभिड संक्रमण कम हुनासाथ पुनःनिर्माणलाई निरन्तरता दिने जनाएको थियो ।

तर १६ महिना पुगिसक्दा पनि काम हुनसकेको छैन । हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । भन्नुभयो–‘चीन सरकार र पुरातत्व विभागबीच भएको सहमतिअनुसार काम भएकोले समितिलाई कुनै जानकारी छैन ।

करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा ठेकेदार नआएपछि नौतले दरबार र त्यस परिसरका संरचना बन्न नसकेका हुन् । चीन सरकारले नौतले दरबार, दरबारसँगै जोडिएको वसन्तपुर, ललितपुर, भक्तपुर र कीर्तिपुर टावरसहितको संरचना पुनःनिर्माण गरिरहेको थियो ।