महिलाहरू नेतृत्वमा आउनुपर्नेमा जोड

182
Shares

भूपराज बस्याल, काठमाडौँ ।

महिला अधिकारका नाममा महिलालाई अधिकार प्रदान गरिए पनि प्रतिनिधिभन्दा माथि आउन नसकेको भन्दै अब हुने नेपाली कांग्रेस चौधौं महाधिवेशनमा महिलाहरू नेतृत्वमा आउनुपर्नेमा महिला नेतृहरूले जोड दिएका छन् । चौधौं महाधिवेशनमा केन्द्रित रही उनीहरूले यस्तो धारणा राखेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राज्यको हरेक निकायमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले राज्यका निकायमा महिलाको सहभागिता एक तिहाइमात्रै छ त्यो बढाउनुपर्छ ।’ हरेक निकायमा महिला कोटा सुनिश्चित गरिए पनि उच्च नेतृत्वमा महिलाको सहभागिता खासै हुन नसकेको उहाँको भनाइ थियो । उहाँले महिलाको नेतृत्व सुनिश्चित गर्ने काम आफ्नै पार्टीबाट गर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा बहुपदीय व्यवस्था हुनुपर्ने भन्दै महिलाहरू नेतृत्वको हरेक स्थानमा पुग्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम गर्दै महिलाहरूलाई नेतृत्वमा आउनको लागि प्रोत्साहन गरिएको भन्दै अब वडा, जिल्ला, क्षेत्र, प्रदेश हुँदै संघसम्म महिलाको सहभागितालाई जोडिदिनुपर्ने उहाँले आफू सह–महामन्त्रीमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पनि महिलाहरू नेतृत्वका लागि सक्षम हुँदै गएको धारणा राख्नुभएको छ । उहाँले अब महिलाहरू नेतृत्वका हरेक जिम्मेवारी बहन गर्न सक्षम भएको धारणा राख्नुभएको हो । उहाँले तत्कालै आफू चौधौं महाधिवेशनको लागि उम्मेदवारी घोषणा नगरिहाले पनि नेतृत्वले प्रदान गर्ने जुनसुकै जिम्मेवारी पनि लिन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म यहीँ पदको लागि उम्मेदवारी भनेर भन्दिनँ । साथीहरूसँगको छलफलमा छु साथीहरूले दिएको जिम्मेवारी निर्वाह गर्न तयार छु ।’