महिलाको भेजाइनल स्वाब र भिसेरा प्रयोगशालामा पठाइयो

13.4k
Shares

विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षण लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा तथा भिसेरा परीक्षणका लागि पठाइएको हो । उहाँले भन्नुभयो– स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ, रिपोर्ट आउँन बाँकी रहेको छ ।

ती महिलाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयघातका कारण मृत्यु भएको देखाएको जनाएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही पनि थिएन । प्रहरी निरीक्षक शाहीले भन्नुभयो– ‘हृदयघातका कारण मृत्यु भएको रिपोर्ट आए पनि हामीले कलडिटेल, उक्त दिन क–कसको सम्पर्कमा थिइन् लगायतका विषयमा थप अनुसन्धान गर्दैछौं ।

साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेकी थिइन्, तर माइतीघर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन् । मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन् ।