सञ्चारमैत्री कानुन बनाउने प्रतिबद्धता

140
Shares

दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याइने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले कर्णाली प्रदेश सरकारले सञ्चार मैत्री कानुन ल्याउने बताउनुभएको छ ।

विषय विज्ञसहित सरोकारवाला पक्षसँग छलफल गरेर कर्णाली सुहाउँदो सञ्चारमैत्री कानुन ल्याउने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, मानव अधिकार सञ्चार प्रतिष्ठान, फ्री मिडिया नेटर्वक सुर्खेत र इन्टरनेसनल अलर्टको संयुक्त आयोजनामा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा प्रदेश सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री नेपालीले कर्णाली सुहाउँदो सञ्चारमैत्री कानुन ल्याउने बताउनुभएको हो ।

कर्णाली प्रदेश सरकार सञ्चारसँग सम्बन्धित ऐन कानुनहरू बनाउन लागेको जानकारी दिनुहुँदै मन्त्री नेपालीले पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । यो भन्दा अगाडि बनेको कर्णाली प्रदेशको प्रसारण ऐन संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो ।

आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेश सभामा दर्ता भएको र प्रदेशको लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा रहेको मन्त्री नेपालीले जानकारी दिनुभयो । सञ्चारसँग सम्बन्धित कानुनहरू ल्याउँदा सरोकारवालाको सहभागितामा छलफल गरेर कानुन निमार्ण गरिने मन्त्री नेपालीको भनाइ छ । कार्यक्रममा मन्त्री नेपालीले जनतालार्ई सत्य र तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरूलार्ई सुझाउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाका लागि प्रदेश सरकार तथा स्थानीयतले ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि प्रदेश सरकारले सरोकारवालाहरूको सहभागितामा सञ्चारमैत्री कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षामा आइपर्ने सवालहरूलार्ई पहिचान गरेर अगाडि बढ्न सकिने विषयमा मानअधिकार सञ्चार प्रतिष्ठानका निराजन नेपालीले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागीहरूले पत्रकारहरूको भौतिक तथा पेशागत मर्यादाका लागि सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सुझाब दिएका छन् ।