सर्लाहीमा रासायनिक मलको चरम अभाव

126
Shares

पुस्तिका केसी, सर्लाही ।

रासायनिक मलको चरम अभाव भएपछि यस वर्ष जिल्लामा धान उत्पादन घट्ने भएको छ । धमाधम धान मामल हाल्ने बेलामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले किसानलार्ई पर्याप्त मल आपूर्ति गर्न नसक्दा यस वर्ष धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

धानमा हाल्न युरिया मल सहजै नपाएपछि धेरै किसानले भारतीय युरिया मल किनेर धानमा हालिसकेका छन् । युरिया मल लिन तीनदिन सहकारी संस्थामा धाउँदासमेत मल नपाएपछि आफूले भारतीय युरिया मल प्रतिबोरा एक हजार १ सय ५० रूपैयाँका दरले खरिद गरेर तीन बोरा मल धानमा हालेको मुर्तियाका किसान महेश्वर कार्कीले बताउनुभयो ।

मलको चरम अभाव भएपछि स्थानीय सहकारी संस्थाहरूले किसानलार्ई प्रति १० किलोका दरले रासायनिक युरिया मल भागबन्डाको आधारमा वितरण गरेको छ । खेतीको बेलामा तीनदिन स्थानीय सहकारी संस्था धाउँदासमेत मल नपाएका धेरै किसानले गुनासो गरेका छन् ।

‘मकैमा हाल्न पनि मल पाएनन् ,अहिले फेरि धानमा हाल्न पनि मल पाएको छैन, मल किन्न भनेर दिनभरि नै सहकारी संस्थामा लाइन बस्दा जम्मा १० किलो मात्र मल पाइन्छ ।

१० किलो मल कहाँ लगेर हाल्नु ? एक बिघा खेतलार्ई कम्तीमा पनि दुई बोरा युरिया मल चाहिन्छ, समयमा नै मल नपाएर मकै खेती बिग्रियो, अब धानबाली पनि यस वर्ष नफल्ने भयो’, लालबन्दी नगरपालिका–१६ किसान मानबहादुर थापाले गुनासो गर्नुभयो ।’

केही महिनाअघि उखु र मकै रोप्ने बेलामा डिएपी मल नपाएर हैरान भएका किसान अहिले फेरि धानमा हाल्न मल नपाएपछि चिन्तित भएका छन् । यसरी सहज युरिया मल नपाउँदा किसानलार्ई भारतबाट लुकाईछिपाई ल्याइएको गुणस्तरहीन मल प्रयोग गनुपर्ने बाध्यता रहेको छ ।

जिल्लामा किसानलार्ई चाहिने आवश्यकता अनुसारको मल माग गरेको भए पनि कृषि सामाग्री कम्पनीमा पर्याप्त मल नआएकोले युरिया मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख दीपक थापाले बताउनुभयो ।

‘यस वर्ष हामीले किसानलार्ई सहज मल वितरण गर्न कोटा बढाएर मल मागेका थियौं, तर आवश्यकताभन्दा कम मल आएकाले सहजरूपमा मल उपलब्ध गराउन नसकेको थापाले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष जस्तैः यसपालि पनि किसानले धानमा मल हाल्ने बेलामा मलको अभाव खेप्नुपर्‍यो, मल सहज रूपमा वितरण गर्न के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ । उहाँले भन्नुभयो– ‘किसानलार्ई मल उपलब्ध गराउन मन्त्रालयसँग केही दिनअघि ७ हजार २ सय मेट्रिन टन युरिया मल माग गरेका छौं ।

जिल्लामा अहिले एक सय ७२ वटा सहकारी संस्थाले मलको माग गरेकाले पहिलेको भन्दा पनि सहकारी संस्थालार्ई कोटा घटाउनुपर्ने बाध्यता छ । थप मल नआएसम्म वितरण सजह हुने छैन’, उहाँले भन्नुभयो ।

मल आपूर्ति गर्नेे जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले स्थानीय तहअन्तर्गतको कृषि शाखाको सिफारिसमा सहकारी संस्थालार्ई मल उपलब्ध गराउँदै आएको छ ।

साल्ट ट्रेडिङ्गले एकपटकमा युरिया २५ बोरा, आवश्यकता अनुसारको डिएपी, पोटास १० बोरासम्म उपलब्ध गराउँदै आएको छ । कोटा प्रणालीमा रासायनिक मल वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग सर्लाहीका प्रमुख सञ्जीव झाले बताउनुभयो ।

अहिले धानको समयमा मागअनुसारको रसायनिक मल उपलब्ध नहुँदा वितरण गर्न समस्या परेको हिमाल पहाड तराई कृषि सहकारी संस्थाका कुमार ढुंङ्गेलले बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनीले सहकारी संस्थालार्ई २०/२० बोराका दरले जम्मा ४० बोरा युरिया मल पठाए पनि त्यो आवश्यकताभन्दा धेरै कम भएकाले वितरण गर्न समस्या परेको उहाँको भनाइ छ ।

कोटाअनुसार आएको मलले २० प्रतिशत किसानलार्ई मात्र पुग्ने भएकाले अझै ८० प्रतिशत मल आवश्यकता रहेको उहाको भनाइ छ । यस वर्ष जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र सर्लाही प्रमुख कमलदेव महतोले जानकारी दिनुभयो ।