ती आँखामा स्रजल र प्रिजा उत्कृष्ट 

112
Shares

मखमली स्वरका मूर्धन्य गायक तथा संगीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण गर्दै एसियन म्युजिक प्रालिद्वारा आयोजित कभर गीत गायन प्रतियोगितामा स्रजल महर्जन र प्रिजा मिश्रको जोडी प्रथम भएको छ।

गायक प्रधान र गायिका केन्जुमा सुब्बाको स्वर रहेको ती आँखामा बोलको गीतको कभर गायन प्रतिस्पर्धाको फाइनलका लागि ११ जोडी गायक–गायिका चयन भएका थिए। उनीहरूमध्येबाट महर्जन र मिश्रको जोडी प्रथम भएको आयोजक संस्थाका अध्यक्ष ईश्वर गुरुङले बताए।

विजेता महर्जन र मिश्रले पुरस्कारस्वरूप युगल स्वरमा एउटा गीत रेकर्ड गर्ने अवसर पाउनेछन्। आयोजक संस्थाले गीतको म्युजिक भिडियो पनि निर्माण गर्नेछ। प्रतियोगितामा सुमित श्रेष्ठ र युनिशा शेर्पा देशारको जोडीले द्वितीय भई युगल स्वरमा एउटा गीत रेकर्ड गर्न पाउनेछन्। प्रतियोगिताका लागि देशभरबाट एक सय ७३ जोडीले आफ्नो स्वरमा गीत रेकर्ड गरेर भिडियो पठाएका थिए।

६ वर्षअघि रिलिज भएको यो गीतमा जुगल डंगोलको संगीत र डब्बु क्षत्रीको शब्द रहेको थियो।

प्रतियोगिताका विजेता र उत्कृष्ट ११ मा पर्न सफल प्रतिस्पर्धीलाई राजधानीमा एक समारोह आयोजना गरी प्रमाणपत्र प्रदान गरिने भएको छ।