प्रकाशले ८९औं दिनमा जिते कोरोना

3.8k
Shares

काठमाडौं, (नेस) ।

भक्तपुरमा एक कोरोना संक्रमित पुरुषले अस्पताल भर्ना भएको ८९औं दिनमा कोरोनालाई जितेका छन् । ललितपुर ग्वार्कोका ५० वर्षीय प्रकाश रघुवंशी वैशाख २५ गते कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

ब्लड प्रेसर तथा सुगरबाट आक्रान्त प्रकाशको ३७ दिन भेन्टिलेटर, १४ दिन आईसीयू, १० दिन एचडीयू तथा २८ दिन जनरल वार्डमा राखेर उपचार गरिएको अस्पतालका प्रमुख डा. ज्ञानकृष्ण कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अधिकतम इन्सुलिन दिएर उपचार गर्दा पनि उहाँको स्थास्थ्य स्थिर नै थियो, पटकपटक निमोनियाले पनि सताएको थियो तर उहाँको उपचारमा अस्पतालको सम्पूर्ण टिमको मिहिनेत र परिवारको धैर्यता, साथ र सहयोगकै कारण आज उहाँ र परिवारलाई हामीले खुसी दिन सफल भएका छौं ।’

बिरामी प्रकाशकी श्रीमतीले पारिवारिक वातावरणमा आफ्नो श्रीमान्को उपचार गरी प्राण रक्षा गरिदिएकोमा अस्पताल परिवारलाई धन्यवाद दिनुभएको छ । साथै, उहाँले धैर्यता र आत्मविश्वास लिन सके जस्तोसुकै कठिन परिस्थितिमा पनि कोभिडलाई जित्न सकिने रहेछ भन्दै आफ्नो जीवनमा अत्यन्त महत्वपूर्ण सफलता मिलेको बताउनुभयो ।

यसैबीच, रघुवंशीलाई बिदाइ गर्न पुगेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा मध्यपुर नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिका अस्पतालले सम्पूर्ण बिरामीको उपचार सहज र बिरामीमैत्री वातावरणमा गरिरहेकाले प्रकाश र उहाँजस्ता थुप्रै बिरामीले अस्पतालको सेवाबाट लाभान्वित हुने बताउनुभयो । साथै, कोभिडको तेस्रो भेरियन्टले आगामी दिनमा पार्ने प्रभावलाई पनि मध्यजनर गरी अस्पतालमा आवश्यक पूर्वतयारी गरिएको तथा अस्पतालको सेवा विस्तारमा जोड दिइएका नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।