बुद्धकालीन कथामा अंगुलीमाल बन्ने

70
Shares

भक्तपुर, (नेस)।

बुद्धकालीन कथा बोकेको ऐतिहासिक नेपाली फिल्म अंगुलीमाल निर्माण हुने भएको छ।

तत्कालीन समयमा गलत बाटो अंगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सत्मार्गको लागि प्रेरित गरेको कथावस्तुमा फिल्म निर्माण गर्न लागिएको हो। फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त ब्यानरमा सुरेन्द्र श्रेष्ठले निर्माण गर्न लागेको फिल्म युवा निर्देशक अभय डंगोलको निर्देशन गर्नेछन्। हालै मध्यपुर थिमिमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथावस्तुका लेखकबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ।

फिल्मको आगामी दशैं र तिहारका बीचमा शुभमुहूर्त गर्ने निर्माता सुरेन्द्र श्रेष्ठले जानकारी गराए। ऐतिहासिक कथावस्तुलाई युवादेखि वृद्धावस्थाका दर्शकको रुचिबमोजिम निर्माण गर्ने योजना रहेको श्रेष्ठले बताए। सोहीअनुरूप एनिमेसन, भीएफएक्स तथा प्राविधिकरूपमा अब्बल बनाउनेदेखि कलाकारको अडिसन लिनेसम्मको तयारी भइरहेको छ। बुद्धको जन्म नेपालमा भएको थियो। तर, यो विषयमा अन्तर्राष्ट्रियस्तरमा गलत प्रचार भइरहेको छ। नेपाली भाषामै निर्माण हुने सिद्वार्थ गौतम बुद्धसँग सम्बन्धित अंगुलीमाल फिल्मले यो भ्रमलाई चिर्ने निर्देशक डंगोलको दाबी थियो।

सिद्वार्थ गौतमले तत्कालीन भारत वर्षअन्र्तगत बोधगयामा बुद्धत्व प्राप्त गरे पनि बुद्धको जन्मथलो आधुनिक नेपालको लुम्बिनी हो। संयुक्त राष्ट्र संघअन्तर्गतको युनेस्कोले समेत बुद्धको जन्मस्थानबारे निर्विवाद नेपाल नै भएको जनाएको छ। निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिब दुई वर्ष लाग्ने बताए।

कार्यक्रममा शिक्षासेवी तथा फिल्मका लागि कथावस्तु तयार गरेका रामेश्वर भुजूले नेपालमा जन्मिएका बुद्धको कथावस्तुलाई नेपाली शैलीमा बनाउन फिल्म निर्माण गर्न लागेको बताए। कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, फिल्म निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक इन्द्रकृष्ण श्रेष्ठलगायतले देशविदेशमा फिल्म प्रदर्शन हुँदा यसले सकारात्मक सन्देश दिने बताए।