अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन

154
Shares

दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णालीप्रदेश सरकारले तीन पांग्रे सवारी साधन अटोरिक्सालाई व्यवस्थित गर्ने भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा व्यवस्थित गर्न लागेको हो ।

मन्त्रालयले तीनपाङ्ग्रे सवारी साधन अटोरिक्सा व्यवस्थित गर्नका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अधिकृतस्तर सातौं तहका भीमबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा यातायात व्यवस्था कार्यालय सुर्खेतका आनन्द चापाईं, जिल्ला प्रसासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत शमशेर राना, वीरेन्द्रनगर नगरपालिकाका नमराज गिरी र सदस्य सचिवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य रहेका छन् ।

अटोरिक्सालाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी साउन महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेश गर्न कार्यदललाई समय दिइएको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

मन्त्री थापाका अनुसार कार्यदलले अटोरिक्साको भाडादर निर्धारण, रूट व्यवस्थापन, कुनै एक स्थानीय तहमा दर्ता भई अर्को स्थानीय तहमा सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

त्यस्तै, कार्यदलले अटोरिक्सा पार्किङ व्यवस्थित गर्न, ट्राफिक जनशक्तिको थप व्यवस्थापनसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार गरिनेछ । कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले अटोरिक्सालाई व्यवस्थित गर्नका लागि आवश्यक प्रक्रिया थाल्ने मन्त्री थापाले जानकारी दिनुभयो । अध्ययन प्रतिवेदनका आधारमा अटोरिक्सालाई कसरी व्यवस्थापन गर्न सकिन्छ र अहिलेको समस्या कसरी हल गर्ने भन्ने विषयमा मन्त्रालय अगाडि बढने उहाँको भनाइ छ ।

कार्यदलले अध्ययन अवधीमा कम्तीमा १० वटा बैठक बस्न सक्नेछ । कार्यदलले आवश्यकताअनुसार सरोकारवाला निकायसँग छलफल तथा समन्वयगरी अध्ययन प्रतिवेदन दिनेछ ।