लकडाउनमा बन्यो लभ सर्कल

1.5k
Shares

कोरोना महामारीका कारण डेढ वर्षदेखि फिल्म क्षेत्र सुस्ताएको छ। २०७६ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बीचमा केही महिना खुले पनि दोस्रो चरणको कोरोना महामारीका कारण ठप्पजस्तै बनेको छ।

यसै मेसोमा गत वर्षको लकडाउनपछिको विषम परिस्थितिका बाबजुद छायांकन गरिएको फिल्म लभ सर्कलको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। मी टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्म ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन वसन्त निरौलाले गरेका छन्। लकडाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राविधिकलाई पनि केही राहत होस् भन्ने उद्देश्यका साथ डिजिटल प्लेटफर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्यसहित लभ सर्कल निर्माण गरिएको निर्देशक निरौलाले बताए। लकडाउनले शून्य रहेको फिल्म क्षेत्रलाई चलायमान गराउने सोचका साथ फिल्म निर्माण गरेको उनको भनाइ छ।
फिल्ममा नाजिर हुसेन, मुकुन भुसाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिश्ता बस्नेत र सुमन कोइरालाले अभिनय गरेका छन्। कमेडी च्याम्पियनमा दले दाइको उपनामले चिनिएका सुमन कोइराला यसै फिल्ममार्फत डेब्यु गर्दै छन्। फिल्ममा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, पवित्रा आचार्यको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन तथा मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन रहेको छ। आगामी साउन २९ गतेदेखि डिसहोम सिनेमा घरमा प्रदर्शनमा आउने फिल्म सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि प्रदर्शन गरिने जनाइएको छ।