लुम्बिनी विकास कोषसँग लिखित राय मागिने

112
Shares

काठमाडौं, (नेस) ।

राष्ट्रिय सतर्कता केन्द्रले लुम्बिनी विकास कोषमा अनियमितता भएको भन्दै उजुरीको सम्बन्धमा लिखित राय माग गर्ने भएको छ ।

कोषमा भएको अनिमितताको उजुरी छानबिन गर्ने क्रममा केन्द्रले राय माग गर्ने निर्णय गरेको केन्द्रका उपसचिव अमिता वज्राचार्यले बताउनुभयो । उहाँले उजुरीसँग सम्बन्धित कागजपत्र १५ दिनभित्र उपलब्ध गराउनुपर्ने निर्णय पनि भएको जानकारी दिँदै भन्नुभयो– ‘कोषले कागजात उपलब्ध गराएपछि केन्द्रले अनुसन्धान गर्नेछ ।’

उपसचिव वज्राचार्यका अनुसार कोषको कर्मचारी नियुक्ति, पूर्वाधार निर्माणको टेन्डर, मायादेवी मन्दिर, सारस आरक्षण केन्द्र निर्माण, पाँच हजार क्षमताको हल आदि निर्माणमा भएका अनियमितता र कोषको माटो बिक्रीमा भएको हिनामिना सम्बन्धमा केन्द्रले छानबिन गर्नेछ ।

केन्द्रले कोषका पदाधिकारीहरूलाई कार्यालयमै बोलाएर अनियमितताका सम्बन्धमा परेका उजुरीमाथि छानबिन थाल्ने जानकारी गराएको वज्राचार्यले बताउनुभयो ।

गत आइतबार केन्द्रले कोषका सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य र योजना प्रमुख सरोज भट्टराईलाई केन्द्रको कार्यालय सिंहदरबारमै बोलाएर छलफल गरेको थियो ।