१ अर्ब ६९ करोड ८१ लाख बजेट फ्रिज

752
Shares

विमल विष्ट, डोटी ।

विकास निर्माणका लागि विनियोजन भएको रकमको समयमै काम गर्न नसक्दा जिल्लामा वर्षेनी करोडौं रकम ९बजेट० फ्रिज हुँदै आएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ६९ करोड ८१ लाख १३ हजार ६३९ विकास बजेट फ्रिज भएको छ । संघीय सरकारको बजेटबाट ५४ करोड एक लाख २२ हजार ४३ र प्रदेश सरकारको बजेटबाट एक अर्ब १५ करोड ७९ लाख ९१ हजार ५९६ फ्रिज भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा संघीय कार्यालयमार्फत जिल्लामा चालूतर्फ ६ अर्ब आठ करोड ४२ लाख ५४ हजार र पुँजीगत तर्फ एक अर्ब १९ करोड ३८ लाख ५७ हजार बजेट विनियोजन भएको थियो । सोमध्ये चालूतर्फ पाँच अर्ब ७७ करोड ४३ लाख २६ हजार र पुँजीगततर्फ ९६ करोड ३६ लाख ६३ हजार ५०० खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । संघीय सरकारको बजेटको ९२ दशमलव ५७ प्रतिशत खर्च भएको छ । संघीय कार्यालयको चालूतर्फ झण्डै ९५ प्रतिशत र पुँजीगततर्फ ८० दशमलव ७१ प्रतिशत रकम खर्च भएको देखिएको छ ।

उता प्रदेश सरकारको बजेट भने झण्डै २७ प्रतिशत फ्रिज भएको पाइएको छ । चालूतर्फ दुई अर्ब १३ करोड ७१ लाख ३१ हजार ५ सय विनियोजन भएकोमा एक अर्ब ४९ करोड एक लाख ३० हजार १३७ खर्च भएको पाइएको छ । उक्त रकम चालूतर्फ विनियोजित कुल रकमको ६९ दशमलव ७३ प्रतिशत हो ।

यसै गरी पुँजीगततर्फ दुई अर्ब १७ करोड ९५ लाख ८२ हजार विनियोजन गरिएकोमा एक अर्ब ६६ करोड ८५ लाख ९१ हजार ७६७ मात्रै खर्च भएको देखिएको छ । कुल पुँजीगत अनुदानको ७६ दशमलव ५५ प्रतिशतमात्रै खर्च भएको पाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा जम्मा ४५ करोड सात लाख २१ हजार १७२ रुपियाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयको तथ्याङ्क अनुसार संघीय कार्यालयमार्फत ४१ करोड १५ लाख ३६ हजार ९१८ र प्रदेश कार्यालय अन्तर्गत तीन करोड ९१ लाख ८४ हजार २५४ राजस्व संकलन भएको हो ।