‘ऋण र व्यापार घाटा घटाउने काम गर्नुपर्छ’

752
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित अर्थसचिवको स्वागत तथा बिदाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै सबै कर्मचारीले समेत सोही स्प्रिटलाई काम गर्न आग्रह गर्नुभएको छ । ‘मन्त्रीले जानेर वा नजानेर देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधैँ हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।’ अर्थमन्त्री शर्माको भनाइ थियो ।

कार्यक्रममा नवनियुक्त अर्थसचिव मधु मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले ७० प्रतिशत योगदान गरेको उल्लेख गर्दै यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पुर्‍याउने दाबी गर्नुभयो ।

त्यस्तै अर्थ सचिवबाट सरुवा हुनुभएका शिशिर ढुंगानाले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर विस्तारै घट्दै गएकाले अहिले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । महामारीकै बीच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्न सक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएकोलगायतका सकारात्मक परिसूचकसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन गर्नुपर्ने, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतसँग रहेका ठूला कोषको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिबेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतका क्षेत्रमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो ।