निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार

84
Shares

नेपाल समाचारपत्र, कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो–‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ, हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार छ ।’

युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको उल्लेख गर्दै व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको भन्दै उहाँले प्रविधिकै कारण लागत मूल्य कम पर्ने र उपभोक्तासम्मले अनुकुल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राख्नुभयो ।

कोरोनाका कारण थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने भन्दै यसमा देखिएका कमी कमजोरीलाई सुधार गरेर यसलाई तत्काल कार्यान्वयनमा हामी मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनुभयो ।

लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यप्रति सरकार स्पष्ट रहेको भन्दै उहाँले लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार आतुर रहेको बताउनुभयो । उत्तरको कोरोल्ला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उहाँले यसका लागि संघ सरकारसँग सहयोग मागिरहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकुल समयबीच व्यवसायीहरु रहेको भन्दै उनीहरुको बाध्यता आफूले बुझेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले स्रोत र आवश्यकताबीच धेरै खाडल रहेको भन्दै यही चुनौती खेपेर सरकारले काम थालेको बताए । २१ अर्ब केन्द्रको अनुदान हुँदा हामीले ३० अर्बको बजेट ल्याउनुपर्ने बाध्यता औंल्याउँदै आन्तरिक राजस्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उहाँको भनाइ थियो ।

अर्थमन्त्री रामजी बरालले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताउनुभयो । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवसायीलाई खोप प्रदान गर्न लागि परेको भनाइ राख्नुभयो । कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैंले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।