‘युवा वर्गको भूमिका महत्वपूर्ण’

376
Shares

ललितपुर, (नेस) ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले राष्ट्रको विकासमा युवा वर्गको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै युवा शक्तिलाई सदुपयोग गर्न समुदाय, स्थानीय तहसँगै राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

ललितपुर महानगरपालिका–१९ वडाको आयोजना र राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको सहआयोजनामा भएको पाँचदिने नेतृत्व विकास तथा समूह व्यवस्थापन तालिमको आइतबार समापन समारोहमा उनीहरूले सो खाँचो औंल्याएका हुन् ।

समारोहमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले युवावर्गको प्रतिभा प्रस्फुटन, क्षमता विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै तालिममा सिकेका विषयमा व्यवहारमा उर्तानुपर्ने बताउनुभयो ।

ललितपुर महानगरपालिका–१९ वडाका अध्यक्ष विनोद ताम्रकारले युवावर्गमा सकारात्मक सोच, क्षमता विकासका लागि युवासम्बद्ध संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न वडा कार्यालय तयार रहेको बताउनुभयो । वडाअध्यक्ष ताम्रकारले वडास्तरमा युवावर्गको विकासको कार्यलाई प्राथमिकतामा राखेको बताउँदैै यसका लागि सहकार्य गरेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा शाखाका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले समुदायका तृणमूलमा रहेका युवा वर्गलाई जिम्मेवार बनाउन, सशक्तिकरणका लागि कसैको एक्लो प्रयास मात्र पर्याप्त नरहेको उल्लेख गर्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
समारोहमा १९ वडाका महिला तथा युवा संयोजक एवं वडा सदस्य रामिया महर्जनले पाँचदिने नेतृत्व विकास तालिमबाट आफू निकै प्रभावित भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।