दोगडाकेदारमा सडक मर्मत स्वयंसेवक

98
Shares

नेपाल समाचारपत्र, बैतडी ।

बैतडीमा पहिलोपटक स्थानीय तहमा सडक मर्मत स्वयंसेवक राखिएको छ । दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको हो ।

पालिकाले निर्माण गरेका सडकहरुलाई सरसफाइ, मर्मतसम्भार तथा रेखदेखका लागि स्वयंसेवकलाई कारर सेवामा नियुक्त गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेका सडकहरुलाई सुचारु गर्न, मर्मत र नियमित सञ्चालनका लागि सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले जानकारी दिनुभयो । प्रत्येक स्वयंसेवकलाई मासिक १३ हजार ५ सय तलब दिने गरी नियुक्त गरिएको र उनीहरूलाई सडक मर्मतका लागि फिल्डमा खटाइसकेको उहाँको भनाइ छ । स्वयंसेवकका लागि चालू आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

दोगडाकेदार गाउँपालिकाले सबै वडामा सडक पु¥याइसकेकाले वडाका सडकहरुलाई नियमितरूपमा सञ्चालन गर्नका लागि स्वयंसेवक नियुक्त गरेको दाबी गरेको छ ।

दोगडाकेदार गाउँपालिकाले खोचलेक–रिम–गोरङ सडक, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड, कपडा–कलौनलगायतका सडकलाई नियमितरूपमा सञ्चालन गर्नका लागि स्वयंसेवक नियुक्त गरेको बताएको छ ।

सडक मर्मत स्वयंसेवक नियुक्त गरिएसँगै गाउँपालिकाका ग्रामीण सडकहरु बाह्रैमहिना सञ्चालन हुने भएका छन् । यसअघि वर्षात्को समयमा सडकहरु बन्द हुने गरेका थिए ।

बैतडीका १० स्थानीय तहहरुमध्ये दोगडाकेदार गाउँपालिकाले पहिलोपटक स्वयंसेवक नियुक्त गरिएको भए पनि अन्य स्थानीय तहमा राखिएका छैनन् ।