युट्युबद्वारा अस्ट्रेलियाली टिभीमाथि कारबाही


सिड्नी, (एजेन्सी) ।

युट्युबले स्काई न्युज अस्ट्रेलियालाई एक साताका लागि निलम्बन गरेको छ । स्काई न्युजलाई कोभिड–१९ सम्बन्धी गलत सूचना प्रसारण गरेको अभियोग लगाइएको छ । यो युट्युबको तीन चरणको कारबाहीमध्ये पहिलो हो । तेश्रो तथा अन्तिम कारबाहीमा परेपछि युट्युबले जसको पनि सञ्चार सामग्री सधैंका लागि हटाउन सक्छ ।

युट्युबले स्काई न्युज अस्ट्रेलियाको निश्चित सूचनालाई इंगित नगरे पनि आफूले वास्तविक विश्वलाई हानी पु¥याउन सक्ने सामग्रीको विरोध गरेको औपचारिक जानकारी दिएको छ ।

तर, स्काई टेलिभिजन च्यानलको डिजिटल सम्पादकले भने युट्युबको यस निर्णयले स्वतन्त्ररूपमा सोच्ने योग्यतामाथि प्रहार भएको प्रतिक्रिया दिएका छन् ।

स्काई न्युज अस्ट्रेलियामा रुपर्ट मुर्डाकको न्युज कर्पोरेसनकै लगानी रहेको छ । युट्युबमा यसको १८ लाख ५० हजार सब्सक्राइबर रहेका छन् । यस प्रतिबन्धले स्काईलाई गुगल स्ट्रिमबाट हुने आय आर्जन प्रभावित हुन सक्छ ।

युट्युबले स्थानीय र विश्वव्यापी स्वास्थ निकाय निर्देशिकामा आधारित आफ्नै १९ वटा स्पष्ट कोभिड चिकित्सकीय गलत सूचना नीति रहेको जनाएको छ । छिटो फैलिने डेल्टा भेरियन्टबाट बच्न अहिले लाखौं अस्ट्रेलियाली लकडाउनमा रहेका छन् । कुल जनसंख्याको १५ प्रतिशतले कोरोना भाइरसविरुद्ध पूर्णरूपमा खोप लगाइसकेका छन् ।