चीनमा पनि फैलियो डेल्टा भेरियन्ट


बेइजिङ, (एजेन्सी) ।

पछिल्लो कोभिड–१९ महामारी चीनका थुप्रै स्थानमा फैलिन थालेको छ । स्थानीय सञ्चार–माध्यमले अत्यन्तै तीव्रगतिमा फैलिने डेल्टा भेरियन्टको कारण मुलुक ठूलो जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेको छ । १० दिनभित्र चीनमा डेल्टा भेरियन्टसम्बन्धी तीन सय वटाभन्दा बढी घटना सार्वजनिक भइसकेको छ । स्थानीय अखबारहरूले यस खबरलाई ठूलो प्राथमिकता दिएर छापिरहेका छन् । चीनका प्रमुख स्वासप्रश्वास विज्ञहरूले पनि गम्भीर चिन्ता प्रकट गरेका छन् ।

सरकारले आवतजावतमाथि पछिल्लो बन्देजहरू थपेको छ । धमाधम लाखौं मानिसको पीसीआर परीक्षण हुँदै गरेको छ । चीनमा अहिलेसम्म पूर्णरूपमा कति जनाले खोप लिइसके भन्ने तथ्यांक स्पष्ट भइसकेको छैन । यद्यपि, सरकारी निकायले भने अहिलेसम्म एक अर्ब ६० करोड डोजभन्दा बढी खोप वितरण भइसकेको जनाएको छ ।

कुल १५ वटा प्रान्त र महानगरपालिकामा डेल्टा भेरियन्ट भेटिएको पुष्टि भइसकेको छ । तीमध्ये १२ वटा स्थानको भने पहिलो महामारी शुरू भएको पूर्वी चीनको जियान्सु प्रान्तको नानजिङसँग सम्बन्ध रहेको बताइएको छ ।