वासुदेव लुइँटेल पुरस्कार राता मकै र शाहलाई 



सुदेव–विद्यादेव लुइँटेल गुठीले यस वर्षको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यंग्य अभिनेता किरण केसी ‘राता मकै’लाई प्रदान गर्ने भएको छ।

गुठीकी अध्यक्ष डा. सुष्मा आचार्यको अध्यक्षतामा हालै बसेको कार्य समिति बैठकले २०७७ सालको सो पुरस्कार अभिनेता तथा निर्माता केसीलाई प्रदान गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण समयमा दिन नसकिएका दुई वर्षका पुरस्कारको निर्णय गुठीले गरेको हो। जसअनुसार २०७६ सालको हास्य व्यंग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशि विक्रम शाह र २०७७ सालको हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार केसीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ। पुरस्कारको राशि जनही १ लाख ११ हजार १ सय ११ रुपियाँ रहेको छ। शाह र केसीलाई नगदका साथमा प्रतीक चिह्न र कदरपत्रसहित पुरस्कृत गरिने भएको छ। यी दुवै पुरस्कार आगामी भदौ २३ गते प्रदान गरिने गुठीकी अध्यक्ष आचार्यले जानकारी गराइन्।

कलाकारसँगै फिल्म निर्मातासमेत रहेका केसीले पछिल्लो समय लक्का जवान नामक फिल्म निर्माण गरेका छन्। रिलिजको लागि तयार रहेको फिल्म कोरोना जोखिमका कारण प्रदर्शन हुन सकेको छैन। समाजसेवामा समेत सक्रिय रहँदै आएका केसीले अभिनय क्षेत्रमा पुर्‍याएको योगदानवापत तत्कालीन राजा वीरेन्द्रबाट गोरखा दक्षिणबाहु चौथा, राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री चौथा विभूषणका साथमा विभिन्न मान—सम्मान र पुरस्कार पाइसकेका छन्। त्यसैगरी, पाँच दशकदेखि चित्रकलाको क्षेत्रमा अब्बल नाम बनाएका कलाकार शशी शाहले नेपालका प्रमुख समकालीन कलाकार र देशको पहिलो आधुनिकतावादी चित्रकारका रूपमा ख्याति कमाएका छन्। पारम्परिक हिन्दू रूपांकनमा आफ्नो चित्रलाई निहीत गर्दै हाह शाह र युद्ध, आतंकवाद र असमानताको प्रतिनिधित्वजस्ता समकालीन मुद्दामा आफ्नो क्यानभाष सजाउने गर्दछन्।

पुरस्कार हास्यव्यंग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभामध्येबाट छनोट गरी प्रदान गरिँदै आएको छ। वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडेलगायतका लेखकका हास्यव्ग्यंसम्बन्धी दर्जनौं पुस्तक प्रकाशन गरेका थिए। उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हास्यव्यंग्य क्षेत्रमा पुरस्कार प्रदान गर्ने शुरूवात गरेका थिए।

प्रतिक्रिया दिनुहोस्