प्रहरीसँग युवाको अन्तर्क्रिया

1.4k
Shares

न्युज अफ नेपाल, ललितपुर ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरी सेवामा समाज र राष्ट्रप्रति जिम्मेवार बोध गरी सेवा भावले काम गर्ने थुप्रै अवसरहरु रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिका– १९ वडाको आयोजना र राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरशाखाको सहआयोजना भएको नेतृत्व विकास तालिमका सहभागीहरुलाई आफ्नो अनुभव सुनाउँदै उहाँले सो कुरा बताउनुभएको हो। पाँच दिने नेतृत्व तालिमको अन्तिम दिन आइतबार सहभागीहरुलाई जावलाखेलस्थित परिसरको अवलोकन गराइएको थियो।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले परिसरको नेतृत्वको आफूले दैनिक रुपमा गर्दै आएको काम, भिजन र त्यसप्रति प्रतिबद्धता, समन्वय गर्ने सीप, क्षमता हेरेर जिम्मेवारी दिने, सामूहिक भावना ‘टिम स्पिरिट’ लगायत नेतृत्वमा हुनुपर्ने गुण बारे दैनिक विभिन्न उदाहरण सहित धारणा राख्नुभएको थियो।उहाँले अन्य पेशाको तुलनामा प्रहरी सेवामा अझ समर्पण, अनुशासन, दृढ निश्चयता, समूहमा बसेर काम गर्ने सक्ने, जस्ता गुण खाँचो रहेको बताउनुभयो।

प्रहरी समाजका लागि अत्यन्त महत्वपूर्ण राज्यको निकाय रहेको उल्लेख गर्दै प्रमुख बज्राचार्यले यसको सफलताको लागि समाजका विभिन्न तप्कासंगै युवावर्गको महत्वपूर्ण भूमिका हुने पनि बताउनुभयो ।

सो अवसरमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रज्वल महर्जनले युवावर्गको अवलोकन भ्रमणले प्रहरी प्रशासनप्रति युवावर्गको अपनत्वको वृद्धि, कुनै समस्या परेमा जानकारी दिने, प्रहरीलाई सहयोग गर्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नुभयो । अवलोकनको क्रममा प्रहरी निरीक्षक हेम खत्रीले परिसरभित्र प्रहरीले गर्ने काम, महिला सेल, कन्ट्रोल रुम, मुद्दा शाखा लगायत विभिन्न शाखाको जिम्मेवारी, संगठन संरचना बारे जानकारी दिनुभएको थियो ।

तालिमका सहभागी करिब २५ जना मध्ये अधिकाशं प्रहरी कार्यालयमै पहिलो पटक आएको नौलो अनुभूति भएको सुनाउँदै अवलोकन भ्रमणले नेतृत्वको थप सिकाईसंगै प्रहरीलाई हेर्ने दृष्टि, धारणा सकारात्मक परिर्वतन आउने बताएका थिए । शाखाका अध्यक्ष राजन महर्जनले समुदाय प्रहरी साझेदारी मर्म युवावर्गमा स्थापित गराउन अवलोकन भ्रमण गराइएको बताउनुभयो ।