सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा नियमक निकाय नै मुछिए

846
Shares

काठमाडौं, (नेस) ।

‘बुक बिडिङ’ विधिबाट सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा दुई नियमक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख विवादमा तानिएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरी र नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको देखिएपछि उनीहरू विवादमा परेका हुन् ।

नियमक निकायका अधिकारीले शेयर जारी गर्न लागेका कम्पनीको शेयर खरिद गर्नु नियमविपरीत रहेको दाबी गरिएको छ । नियमक निकायका अधिकारीले आफूलाई प्राप्त सूचनाको आधारमा भित्री कारोबार गर्नु गैरकानुनी भएको बताइन्छ । सर्वोत्तम सिमेन्टको हकमा ‘बुक बिडिङ’ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ७५० रुपियाँको दरमा शेयर बिक्री गर्ने तयारी भइरहेका बेला बोर्डका अध्यक्ष र नेप्सेका सीईओले जम्मा २५० रुपियाँ प्रतिकित्ताको दरमा शेयर खरिद गरेको आरोप लागेको छ । सर्वोत्तम सिमेन्ट कम्पनीमा शिखा अग्रवालको नाममा रहेको शेयरमध्ये अध्यक्ष ढुंगानाको छोरी रेबिका र नेप्सेका सीईओ साउदको श्रीमती सुशीलाकुमारी बोहराले किनेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

दुवै निकायका प्रमुखको परिवारका सदस्यको नाममा कम्पनीको दशौं हजार कित्ता रहेको रहस्य खुलेपछि अर्थ मन्त्रालयले छानविन प्रक्रिया अगाडि बढाएको छ । दुवै जनासँग मन्त्रालयले तीन दिनभित्र जवाफ पठाउने गरी बुधबार र बिहीबार स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले स्पष्टीकरण पत्रमा भनिएको छ–‘सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो, सोको प्रष्ट र तथ्यपरक विवरण तीन दिनभित्र पठाउन आदेशअनुसार अनुरोध छ ।’ सर्वोत्तम सिमेन्टको शेयर अन्य व्यापारीले पनि किनेका छन् । उनीहरूले खरिद गरेको शेयर कारोबार भने खासै विवादमा आएको छैन ।