रक्तदान सम्पन्न

84
Shares

काठमाडौं, (नेस) ।

कोरोना महामारीसँगै लकडाउनले गर्दा रक्तसञ्चार केन्द्रहरूमा समेत रगतको अभाव भैरहेका बेला परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) थापाथलीको सहयोगका लागि सिद्धेश्वर योग साधना केन्द्रले शनिबार कपनमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रसूतिगृह रक्तसञ्चार केन्द्रका संयोजक पर्शुराम दाहालले उक्त रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री गगन थापाले यस्तो भयावह अवस्थामा पनि स्वास्थ्य सुरक्षा अपनाएर रक्तदान कार्यक्रम सम्पन गरेकोमा खुशी व्यक्त गर्नुभयो । सामाजिक दायित्व निर्वाह गर्ने साधना केन्द्रलाई धन्यवाद दिँदै उहाँले नेपाल योगको भूमि भएको र सिद्धेश्वरमा आवश्यक योग भवनका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

साधना केन्द्रका अध्यक्ष कृष्ण कुमार पोखरेलले खोपको कार्यक्रम चलिरहेकाले अझ सोचेजति रक्तदाता सहभागी गराउन सकिएन । खोप लगाएको २१ दिन पछि मात्र रक्तदान गर्न मिल्ने भएकाले रक्तदाताको संख्या विगतमा भन्दा कम भएको बताउनुभयो । ,

उक्त कार्यक्रमका प्रमुख अतिथि थापाले रक्तदान तथा रगत व्यवस्थापनमा अतुलनीय योगदान पुर्‍याउनुहुने प्रसूतिगृहका रक्तसञ्चार संयोजक दाहाललाई दोसल्ला ओढाई प्रशसा पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

रक्तदाताहरूलाई फलफुल तथा जुस खुवाउनका लागि संस्थाका संरक्षक गणेश प्रसाईंको नेतृत्वमा, नवराज कोइराला, राजन काफ्लेले २६ हजार आर्थिक सहयोग गर्नुभएको अध्यक्ष पोखरेलले जानकारी गराउनुभयो ।