ललितपुर, (नेस) ।
रोटरी क्लब अफ सैंबु भैंसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटल डिस्प्ले बोर्ड राखेको छ । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ललितपुरको नख्खुचोक र भैंसेपाटी चोकमा ट्राफिक सन्देश, समय र तापक्रमसहितको डिस्प्ले बोर्ड राखिएको हो ।
बोर्डको रोटरी क्लबका जोन–१५ का डिस्ट्रिक एसिस्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठले डिस्प्लेको उद्घाटन गर्नुभएको उक्त डिस्प्ले बोर्डको उद्घाटन रोटरी क्लबका सन् २०२१–२०२२ का अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा राखिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै एसिस्टेन्ट गभर्नर श्रेष्ठले सामाजिक सेवामा समर्पित रोटरी क्लबले देशका विभिन्न जिल्लामा सचेतना जगाउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोभिड–१९ महामारीबाट जोगिन देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छौँ । त्यसबाहेक राहत वितरण, बालबालिका लक्षित खेल मैदान निर्माण, खानेपानी र सरसफाइ, छात्रा शिक्षा, विपन्न बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्थालगायतका कार्य गरिरहेका छौं ।’
यो वर्ष रोटरी क्लबको सदस्यता बढाउने कामलाई विशेष अभियानकारूपमा सञ्चालन गर्न लागेको बताउँदै पूर्व गभर्नर श्रेष्ठले भन्नुभयो– ‘अब सक्षम नागरिक उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।’
रोटरी क्लब अफ भैंसेपाटी क्लबले गरेका सामाजिक कामको प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘रोटरी क्लब अफ भैंसेपाटीका अध्यक्ष र सबै पदाधिकारीको योगदानलाई कदर गर्नुपर्छ ।’ उहाँले रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
सो क्लबले आफ्नो कार्यक्षेत्र परेको बुंगमतिको स्वाथ्य चौकीमा स्वाथ्य सेवा सञ्चालन गरिरहेको छ । मगरगाँउमा यात्रु प्रतीक्षालय निर्माण गर्ने चरणमा रहेको छ ।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष एवं सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोभिडको समयमा क्लबले गरेका कामको चर्चा गर्दै यस्तै सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘रोटरी क्लब अफ भैंसेपाटी स्थापना भएपछि सो क्षेत्रमा विभिन्न सामाजिक काम गर्न सफल भएको उहाँको धारणा थियो । क्लबका अध्यक्ष मिलन थापाले क्लबले शिक्षा, स्वाथ्य, सरसफाइलगायत क्षेत्रका काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया