चार पालिकामा स्थानीय पाठ्यक्रम निर्माण

140
Shares

नेपाल समाचारपत्र, बैतडी । 

स्थानीय भाषा, कला, संस्कृति, भेषभुषा र स्थानीय परिवेश समेटेर बैतडीका २ नगरपालिका र २ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो ।

पाठ्यक्रम निर्माण गरेका स्थानीय तहहरुले चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने बताएका छन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताउनुभयो । विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित पाठ्यक्रम निर्माण गरिएको छ । ‘हाम्रो डिलाशैनी’ नाम दिएर पाठ्यक्रम तयार पारिएको हो ।

यस्तै, ‘पाटन परिचय’ नाम दिएर पाटन नगरपालिकाले पाठ्यक्रम तयार पारिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदालगायतका कुराहरु समेटिएका छन् ।

यस्तै, मेलौली नगरपालिकाले पनि ‘हाम्रो मेलौली’ नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हाँसिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । यसले विद्यार्थीमा स्थानीय परिवेशको विषयमा ज्ञान हुने विश्वास गरिएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिकाले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ । स्थानीय सरकारहरुले आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गर्नु राम्रो कार्य भएको शिवनाथ गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण समितिका महामलसिंह साउँदले बताउनुभयो ।

स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिवनाथ जिल्लामै पहिलो स्थानीय तहसमेत हो । स्थानीय परिवेशका बारेमा जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको अभिभावकहरुको भनाइ छ । स्थानीय विषयवस्तु समेटेर निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाटै लागू गरिने जनाइएको छ ।

१० स्थानीय तह रहेको बैतडीका अन्य स्थानीय तहहरुले पनि पाठ्यक्रम निर्माणको काम जारी रहेको जनाएका छन् ।