गृह सचिवकोे अध्यक्षतामा छानबिन समिति गठन

770
Shares

काठमाडौं, (नेस)।  

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको फलामे तार काटिदिएका कारण शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा डुबेर बेपत्ता भएको घटनाको सर्वत्र निन्दा भएको छ ।

यसैबीच गृह मन्त्रालयले गृह सचिव महेश्वर न्यौपानेकोे अध्यक्षतामा उक्त घटनाको छानविन समिति गठन गरेको छ । समितिमा गृह प्रवक्ता जनकराज दाहाल, सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट रहनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उक्त घटनाको छानबिन गर्न माग गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

उक्त घटनापछि भारतीय सीमासुरक्षा बल (एसएसबी) को ज्यादतीको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भारतीय ज्यादती रोक्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

उक्त घटनाको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले पनि तीव्र आलोचना गरेको छ । २१औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय व्यवहारको निन्दा गर्दै संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं अर्थिक–सामाजिक क्षेत्रमा बहुआयमिक सम्बन्ध रहीआएको छ । तर, छिमेकी मुलुकसँग समानता र स्वतन्त्रताका आधारमा भ्रातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटक–पटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ ।’

नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानमाथि भारतीय सत्तापक्ष र सुरक्षाफौजले पटक–पटक गर्दै आएको ज्यादतीले छिमेकी मुलुकसँग भारतको सम्बन्ध दिन प्रतिदिन खस्किँदो अवस्थामा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

संगठनले भारतीय सुरक्षाफौजबाट गरिएको ज्यादतीको छानबिन गरी कूटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं बेपत्ता धामी र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति सरकारसँग माग गरेको छ ।

त्यस्तै, देशभक्त गणतान्त्रिक मोर्चाले पनि उक्त घटनाको छानबिनको माग गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।