तुइन काट्ने एसएसबीमाथि कारबाहीको माग

224
Shares

किरण धामी, दार्चुला ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएको भन्दै उक्त घटनामा संलग्न एसएसबीमाथि कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् ।

शुक्रबार विहान ८ बजेतिर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा हतियारसहित एसएसबीको पोशाकमा आएका एसएसबीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय तथा उनीसँगै खलंगा आउन लागेका प्रत्यक्षदर्शीको भनाइ छ । तुइनबाट खसेर धामी बेपत्ता भएको खबरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले पनि पुष्टि गर्नुभएको छ । स्थानीय तथा प्रहरीले धामीकोे खोजी कार्य जारी राखेको छ ।

निवेदनमा मानिसले बाँच्न पाउने अन्तर्राष्ट्रिय मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्ध तथा सामाजिक मूल्यमान्यतालाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न माग गरिएको छ । साथै उक्त घटनाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको पनि निवेदनमा उल्लेख छ ।

शिलान्यासको २ वर्षसम्म पनि बनेन पुल

सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत व्यास क्षेत्रमा तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने सहमति भएको थियो । भारतको गस्कु र व्यास गाउँपालिकाको माल, भारतको ग्राम सोसा र व्यास गाउँपालिकाको मलघट्टे, भारतको एलागाड र व्यास गाउँपालिकाको बडुगाउँमा पुल निर्माणका लागि नेपाल र भारतबीच १७ डिसेम्बर २०१८ मा सहमति भएको थियो । तर, सहमति भएको तीन वर्षमा समेत पुल निर्माणको काम शुरु हुन सकेको छैन ।

नेपालतर्फ व्यास गाउँपालिका वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर ६ बडुगाउँमा २०७६ सालको कार्तिक महिनामा पुलहरुको शिलान्याससमेत गरियो तर अझैसम्म पनि पुल निर्माण कार्य शुरु हुन सकेको छैन । सोही वर्ष शिलान्यास भएको बडुगाउँ–कालागाड जोड्ने पुल भने निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी छ । तर, सँगै शिलान्यास भएका अन्य पुलहरूको निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण अगाडि बढ्न सकेको छैन । उक्त पुल निर्माणको ठेक्का धनबहादुर कुँवरले पाएका छन् ।

नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुंगे पुल निर्माणको ठेक्का भई शिलान्याससमेत भएको भए तापनि हालसम्म पुल निर्माण हुन नसक्दा तुइनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय नरेन्द्रसिंह धामीको गुनासो छ । नेपालपट्टि सहज बाटोघाटो नहुँदा व्यास क्षेत्रका बासिन्दाहरूले खलंगा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।