मन्त्रीमण्डलको पूर्णतापछि सचिवको सरुवा

882
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सरकार परिर्वतनसँगै विभिन्न मन्त्रालय र केन्द्रीयस्तरका कार्यालयका सचिवहरु सरुवा गर्ने गृहकार्य अघि बढाइएको छ ।

नयाँ सरकार गठनसँगै लामो अवधि भइसकेका सचिवहरूलाई सरुवा गर्ने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकार परिवर्तनपछि कर्मचारी सरुवा एउटा परम्पराका रूपमा स्थापित भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरूको सरुवा विवादरहित तरिकाले योग्यता र नियमानुसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कार्यालयका अधिकारीहरु बताउँछन् । यसै साता सम्पन्न सचिवहरुको बैठकमा मन्त्रीको चाहनामा पनि सचिवको हेरेफेर हुने गरेकोमा अब त्यसलाई सुधार्दै सचिवको सरुवा मन्त्रीको चाहनामा नभई प्रधानमन्त्रीकै चाहनामा हुनुपर्ने कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उठेको थियो । मन्त्रिमण्डलले पूर्णता पाएपछि मात्रै सरुवा गर्ने तयारी रहेको पनि बुझिएको छ ।

सचिव सरुवा हुने चर्चासँगै आकर्षक मन्त्रालयका रूपमा लिइने गृह सचिवका लागि दौडधुप शुरु भएको छ । यसअघि नै क्याडर र क्षमताका आधारमा सरुवा नगरेकोमा असन्तुष्टि जनाएका गृहका दाबेदार सचिवहरू अहिलेको सरकारले न्याय गर्ने आशामा छन् ।

सरकार गठनसँगै गृह सचिवको सूचीबारे छलफल भए पनि गृहमन्त्रीले यो एउटै मात्र दलको सरकार नभई धेरै दल सम्मिलित भएको र छलफल गरेर मात्रै जाँदा राम्रो भएकाले केही दिन रोकौं भनेपछि त्यति बेला गृह सचिवको सरुवा रोकिएको थियो ।

दौडधुप गरेकै र शक्तिकेन्द्र धाएकै आधारमा सचिवको सरुवा गर्दा कर्मचारीतन्त्रबाट सरकारले राम्रो काम लिन नसक्ने भएकाले अनुभव र क्षमताकै आधारमा सरुवा गर्नेबारे छलफल भइरहेको पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पुरस्कारका लागि सिफारिस गर्न अनुरोध

निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ ।

सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नामावली पठाउन पत्राचार गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय र आयोगहरूमा कार्यरत कर्मचारीसमेत समेटेर साउन ३२ गतेभित्र मन्त्रालयमा प्राप्त हुने गरी नामावली पठाउन पत्राचार गरेको बताउनुभयो ।