एमाले स्थायी कमिटीको बैठक स्थगित, अझै बाटो हेर्दै



मधुसूदन रायमाझी, काठमाडौं ।

नेकपा एमालेभित्रको जारी विवाद हल गर्न शनिबार अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षले बोलाएको स्थायी कमिटीको बैठक कार्य दलको सुझावअुनसार स्थगित गरिएको छ ।

पार्टी अध्यक्ष ओलीले नेपाल समूहलाई अब धेरै दिन कुर्न नसकिने भन्दै शनिबारसम्मको समयसीमा दिनुभएको थियो । तर, पार्टीभित्रको समस्या समाधान गर्न बनेको विघटित कार्यदलमा रहेका नेताहरूको सुझावअनुसार अध्यक्ष ओलीे स्थायी कमिटीको बैठक बस्दै नबसी स्थगित गर्न सहमत हुनुभएको थियो । विघटित कार्यदलले दुवै समूहबीच सहमतिको खोजी गर्न केही समय मागेपछि अध्यक्ष ओलीले त्यसमा सहमति जनाउनुभएको बताइएको छ ।

फेरि सक्रिय बनेको विघटित कार्यदलले यसअघि पार्टीभित्रको विवाद समाधान गर्न १० बुँदे सहमति जारी गरे तापनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन । विवाद समाधान गर्न दोस्रा तहका नेताहरूले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद गराउन लगातार प्रयास गरिरहेका छन् । पार्टीभित्रको विवाद हल गर्न नेपाल समूहले एकपछि अर्को प्रस्ताव अगाडि सार्दै आएको छ भने संस्थापन पक्षले कतिपय पूरा नै हुन नसक्ने माग अगाडि सारेको बताइएको छ । पार्टीभित्र विवाद विद्यमान रहेकै बेला संस्थापन पक्ष र वरिष्ठ नेता नेपाल समूहका युवाहरूले शक्ति प्रदर्शनको कार्यलाई झनै तीव्रता दिएका छन् ।

नेपाल जस्तालाई पार्टीमा ठाउँ छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरूका लागि पार्टीमा ठाउँ नभएको दोहो¥याउनुभएको छ । प्रधानमन्त्रीबाट हटेलगत्तै आफ्नो निवास बालकोटको बार्दलीबाट नेपाल समूहलाई पार्टीभित्र ठाउँ नरहेको उद्घोष गरेका ओलीले पुनः नेपाल जस्तालाई पार्टीमा ठाउँ नदिने बताउनुभएको हो ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेलाई अब पार्टीमा ठाउँ नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब माधव नेपालजस्ता आन्दोलन विरोधीलाई कुनै ठाउँ छैन । जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने काम गरे ।’

आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर सरकार ढाल्ने काम भएको बताउँदै उहाँले भन्नुभयो– ‘मुख्यमुख्य अपराधीबाहेक अरू भने पार्टीमा फर्कन सक्छन्, अरू साथीहरूलाई मौका दिन्छौं ।’ उहाँले पार्टी एकताका नाममा धेरै कुर्न नसकिने जिकिर गर्दै अहिले धेरै चिन्ता गरिरहनुपर्ने अवस्था नरहेको बताउनुभयो । आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दाबी गर्दै ओलीले पार्टीमा खुट्टा तान्नेहरू कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने बताउनुभयो ।

फेरि प्रधानमन्त्री बन्न जालझेल नगरे हुन्छ : नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीलाई संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न चेतावनी दिनुभएको छ । अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भन्ने ठानेर जालझेल गर्न अब सम्भव नभएको बताउनुभयो ।

प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताउँदै नेपालले अहिलेको सरकारलाई जनताको पक्षमा राम्रो काम गर्न सुझाव दिनुभयो ।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्नेमा जोड दिँदै नेता नेपालले ‘म नै सर्वेसर्वा’ भन्ने भावनालाई अस्वीकार गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्