बुद्धकालीन कथा बोकेको नेपाली चलचित्र ’अंगुलीमाल’ निर्माण हुने

1.8k
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

बुद्धकालीन कथा बोकेको ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण हुने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सत्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागिएको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।

युवा निर्देशक अभय डंगोलको निर्देशन रहने चलचित्रको शुक्रबार मध्यपुर थिमिमा एक कार्यक्रमकाबीच निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथाबस्तुका लेखकबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । चलचित्रलाई आउँदो दसैं र तिहारकोबीचमा शुभमुहूर्त गर्ने निर्माता सुरेन्द्र श्रेष्ठले बताउनुभयो । ऐतिहासिक कथाबस्तुलाई युवादेखि बृद्धावस्थाका दर्शकको रुचि बमोजिम निर्माण गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

सोही अनुरूप एनिमेसन, भिएफएक्स तथा प्राविधिक रूपमा अब्बल बनाउनेदेखि कलाकारहरूको अडिसन लिने सम्मको तयारी भइरहेको छ । ‘बुद्धको जन्म नेपालमा भएको थियो । तर यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा गलत प्रचार भइरहेको छ । नेपाली भाषामै निर्माण हुने सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित अंगुलीमाल चलचित्रले यो भ्रमलाई चिर्नेछ ।’ निर्देशक डंगोलको दाबी थियो ।

सिद्धार्थ गौतमले तत्कालीन भारतवर्ष अन्तर्गत बोधगयामा बुद्धत्व प्राप्त गरेपनि बुद्धको जन्मथलो आधुनिक नेपालको लुम्बिनी हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले समेत बुद्धको जन्मस्थान बारे निर्विवाद नेपाल नै भएको जनाएको छ । निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिव दुई वर्ष लाग्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षासेवी तथा चलचित्रको लागि कथाबस्तु तयार गरेका रामेश्वर भुजूले नेपालमा जन्मिएका बुद्धको कथाबस्तुलाई नेपाली शैलीमा बनाउन चलचित्र निर्माण गर्न लागेको बताउनुभयो । कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठ लगायतले देशविदेशमा फिल्म प्रदर्शनी हुँदा यसले सकारात्मक सन्देश दिने बताउनुभयो ।