सम्पदा संरक्षणमा ललितपुर महानगर अग्रणी

ऐतिहासिक र सांस्कृतिक नाचको निरन्तरताको लागि आर्थिक सहयोग



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले अमूर्त सम्पदा अन्तर्गत पर्ने सांस्कृतिक र ऐतिहासिक विभिन्न नाच संरक्षण गर्न अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले आर्थिक अभावका कारण सांस्कृतिक र ऐतिहासिकसँगसँगै धार्मिक महत्वका नाचहरुको अस्तित्व संकटमा नपरोस् भन्दै अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेको हो ।

महानगरपालिकाले महानगरको वडा नं २८ मा मनाइने हरिसिद्धी भवानीदेवी नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न २५ लाख सहयोग गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले हरिसिद्धी त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

नगर प्रमुख महर्जनले मूर्तसँगसँगै अमूर्त कला संरक्षण पनि महत्वपूर्ण भएकाले अक्षयकोष स्थापनाको लागि सहयोग गरेको बताए । उनले भने, ‘ पैसा नहुँदा, नाच नै चलाउने नसक्ने अवस्था नहोस् भनेर अक्षयकोष स्थापना गरेका हौं । ’

यसैगरी महानगरको वडा नं २१ खोकनामा मनाइने रुद्रायणी नाचको अक्षयकोष स्थापनाका लागि महानगरपालिकाले २५ लाख सहयोग गरेको छ । अक्षयकोषको स्थापनाले नाचलाई निरन्तरता दिन सहयोग पुग्ने उनको भनाई थियो । रुद्रायणी नाच साइत हेरेर १२ वर्षमा एक पटक माघ÷फागुन महिनामा देखाइन्छ ।

यसका साथै महानगरपालिकाले पाटन दरबार परिसरमा हरेक वर्ष देखाइने कात्र्तिक नाचको अक्षयकोष स्थापना गर्न गत माघ महिनामा ५० लाख प्रदान गरेको थियो । कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले अक्षयकोष स्थापनाले नाचलाई नियमित गर्न वर्षैपिच्छे अर्थ संकलन गर्दै हिड्न नपर्ने बताए । उनले भने,‘ यसलाई बढाएर ठूलो राशी बनाउँछौं, अब आर्थिक अभावमा नाच रोकिदैंन ।’

यो नाच मल्लराजा सिद्धीनरसिंह मल्लले सुरु गरेका हुन् । यो नाच कार्तिक महिनामा देखाइन्छ । नाच, जात्रा अमूर्त सम्पदा अन्तर्गत पर्छन् । मन्दिर, पाटी, पौवा मूर्त सम्पदा हुन् । महानगरपालिकाले २४ वर्षदेखि बन्द भएको पायो जात्रा पनि गएको तीन वर्ष अघिबाट सुरु गरेको छ । यो जात्रा दसैंका बेला देखाइन्छ ।

प्रतिक्रिया दिनुहोस्