तुइन काट्ने एसएसबीलाई कारबाहीको माग गर्दै दार्चुला प्रशासनमा निवेदन

630
Shares

न्युज अफ नेपाल, दार्चुला ।

तुइन तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका संलग्न व्यक्तिलाई कारबाहीको माग राख्दै ब्याँसका स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन दिएका छन् । शुक्रवार बिहान ८ बजेतिर महाकाली नदीमाथि लगाएको तुइन तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामीले तुइन तर्दै गर्दा पोशाक र हतियारसहित आएका एसएसबीले तुइन काट्दा नदीमा खसेर उनी बेपत्ता भएको स्थानीयको भनाई छ ।

जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाटमा महाकाली नदीमाथि लगाएको तुईन तर्ने क्रममा एसएसबीले तुइन काट्दा धामी बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मानिसले बाँच्न पाउने अन्तर्राष्ट्रिय मानव अधिकार, न्युनतम मानविय मुल्य मान्यता र नेपाल–भारत सिमा क्षेत्रमा चलिआएको व्यवहारिक सम्बन्ध जस्ता सामाजिक मुल्य मान्यतालाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउदै नदिमा बगाएको हुँदा उक्त पाशविक घट्नामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई निवेदन दिएका हुन् । उक्त घट्नालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखेको निवेदनमा उल्लेख छ ।

घटना के हो ?

ब्याँस गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शुक्रबार बिहान ८ बजेतिर महाकाली नदि माथी लगाएको तुइन तरेर भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट खसेका धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

उनीसँगै खलंगा आउने लागेका स्थानीय प्रत्यक्षदर्शीका अनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुईन काट्दा धामी तुईनको तारसँगै तानिएर महाकाली नदिमा खसेका थिए । उनि अहिले बेपत्ता छन्, प्रहरीले उनको खोजी कार्य गरिरहेको छ ।

शिलान्यासको २ वर्षसम्म पनि बनेन पुल

सरकारको तुईन विस्तापन कार्यक्रम अन्तर्गत ब्याँस क्षेत्रमा तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने सहमति भयो । भारतको गँस्कु र ब्याँस गाउँपालिकाको माल, भारतको गा्रम सोसा र ब्याँस गाउँपालिकाको मलघट्टे, भारतको एलागाड र ब्याँस गाउँपालिकाको बडुगाउँ पुल निर्माणका लागि नेपाल र भारतबीच १७ डिसेम्बर २०१८ मा सहमति भएको हो ।

सहमति भएको तीन वर्षमा समेत पुल निर्माणको काम सुरु हुन सकेको छैन् । नेपाल तर्फ ब्याँस गाउँपालिका वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर ६ बडूगाउँमा २०७६ कार्तिक महिनामा पुलहरुको शिलान्यास समेत गरियो । शिलान्यास गरेको दुई वर्ष बितेपनि काम सुरु हुन सकेको छैन् ।

त्यही वर्ष शिलान्यास भएको बडूगाउँ–कालागाड जोड्ने पुल निर्माण सम्पन्न भई संचालनमा ल्याउने तयारी छ । तर सँगै शिलान्यास भएका पुलहरुको निर्माण कार्य ठेकेदारको लापरवाहीका कारण अगाडी बढ्न सकेको छैन् । उक्त पुल निर्माणको ठेक्का धन बहादुर कुँवरले पाएका छन् ।

नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई शिलान्यास समेत भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुईनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय नरेन्द्र सिंह धामीको गुनासो छ । नेपालपट्टी सहज बाटोघाटो नहुदा ब्याँस क्षेत्रका बासिन्दाहरुले खलंगा आउनका लागि भारतको बाटो हुदै महाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ ।