कोरोना संक्रमणग्रस्त भीमफेदी कारागार, ३५५ कैदीबन्दी संक्रमित

308
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

क्षेत्रीय कारागारका रुपमा विकास गरिएको मकवानपुरस्थित भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारका ठूलो संख्याका कैदीबन्दीहरुमा कोरोना पुष्टि भएको छ ।

कारागारको ब्लक ‘क’ र ब्लक ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको भीमफेदी गाउँपालिका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिनुभयो । पुष्टि हुनेको संख्या कारागारका कैदीबन्दीको तीस प्रतिशत्भन्दा बढी हो ।

कोरोना पोजेटिभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांश कैदीबन्दीलाई कोरोना खोप कोभिसिल्ड लगाइसकिए पनि खोप लगाएका तथा नलगाएका दुवैलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

बुधबार र बिहीबार गरिएको परीक्षणमा कैदीबन्दीमा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । कैदीहरुलाई उक्त कारागारबाट अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा भीमफेदीबाट काठमाडौं स्थानान्तरण गरिएका १५ मध्ये ५ कैदीमा कोरोना पुष्टि भएको जानकारीपछि भीमफेदी कारागारका सम्पूर्ण कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो । पुष्टि भएका संक्रमितहरुमा हाल लक्षण नदेखिए पनि पुष्टि भएका संक्रमितहरुलाई कारागारभित्र अलग आइसोलेसनमा राखिएको उहाँले बताउनुभयो ।

प्राप्त जानकारीअनुसार हाल पुष्टि भएकाहरुलाई केही समयअघि नै रुघाखोकी र ज्वरोलगायत लक्षण देखिए पनि कारागारले चासो दिएको थिएन । लक्षण देखिएकाहरुको परीक्षण गर्न सुरक्षालगायत बिभिन्न कारण झण्झट हुने भएपछि लक्षण देखिएकाहरुको परीक्षण नै हुन सकेको थिएन ।