श्वेतपत्रमा अरुको कमजोरी केलाउने होइन, अर्थतन्त्रको चित्रण गर्छ : अर्थमन्त्री

1.69k
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्थमन्त्रीले रोकेको भन्ने भ्रम सिर्जना गरिएको बताउनुभएको छ । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निक्र्यौल गर्न सुझाव मात्रै दिएको उहाँको भनाइ छ । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

उक्त छलफलमा मन्त्री शर्माले भन्नुभयो–‘मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ । वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना नगर्न, आमनागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन ।’ ऋण पाउने पक्का भएकाहरूले ऋण नपाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उल्लेख गर्दै अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने मन्त्री शर्माको दाबी छ ।

मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसैको कमजोरी नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर गर्ने उल्लेख गर्दै कसैको अवमूल्यन गर्ने काम गर्दिन । श्वेतपत्रले यथार्थ चित्रण गर्छ भन्नुभयो । उहाँले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको हुँदा नयाँ सरकार गठन भएको स्थितिमा आर्थिक अध्यादेश संसदमा टेबल भएकाले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने भन्दै गल्ती भए सच्याउने सल्लाह दिन अनुरोध गर्नुभयो ।

त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले तथ्यमा आधारित नीति बनाउन सघाउ पुग्ने बताउनुभएको थियो । त्यसअघि नाफिजका अध्यक्ष मोदनाथ ढकालले मन्त्री शर्मालाई ऊर्जामन्त्री हुँदाको सफल इनिङ्स दोहो¥याउन सुझाव दिनुभयो ।