मेयर पराजुलीको कार्यशैलीविरुद्ध युवाहरू सडकमा

294
Shares

हरिहर नेपाल, विराटनगर ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीविरुद्ध युवाहरू सडकमा उत्रिएका छन् । आफूनिकट व्यक्तिको घर–घरमा पुगेर कोरोनाविरुद्धको खोप लगाएको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् । युवाहरूले महानगरपालिका अगाडि प्रदर्शन गर्दै मेयर पराजुलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई महानगरका सबैजसो वडामा खोप लगाउने कार्य भइरहेको छ ।

महानगरका अन्य नागरिकहरू घाममा घन्टौंसम्म लाइन बस्दा पनि खोप नपाइरहेको अवस्थामा मेयर पराजुलीकै अग्रसरतामा आफूनिकटका व्यक्तिलाई घरमै पुगेर खोप लगाउनु विभेद भएको युवाहरूको आरोप छ ।

पराजुली बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर विराटनगर–५ स्थित आफूनिकट विमल राजभण्डारीको घरमा पुग्नुभएको थियो । आफू निकट विभिन्न वडाका व्यक्तिहरूलाई बोलाएर खोप लगाइरहेको थाहा पाएपछि स्थानीय युवाले होहल्ला गरेका थिए । युवाहरूले होहल्ला गर्न थालेपछि मेयर पराजुली भन्सार एजेन्ट प्रवीण जोशीको गाडी चढेर भागेका थिए । राजभण्डारी र जोशी दुवै कांग्रेसका नेता हुन् । मेयर पराजुलीको कार्यशैलीले सिंगो कांग्रेसकै बेइज्जत भएको कांग्रेसका युवा नेता दीपक चापागाईं बताउनुहुन्छ ।

यसअघि पनि उद्योगी व्यवसायीको घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाएको भन्दै विरोध भएको थियो । युवाहरूले ‘खोप सबैको नैसर्गिक अधिकार हो’, ‘हाम्रो खोप खोई’, ‘अग्रभागमा खटिएकाहरूलाई प्राथमिकता दे’लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । मेयर पराजुलीको कार्यशैली नसच्चिए कडा आन्दोलनमा उत्रिने युवा आकाश घिमिरेले चेतावनी दिनुभयो ।

घटना भएपछि राति नै मेयरका प्रेस संयोजक कौशल निरौलाले मेयरलाई मुछेर हल्ला गर्नुभन्दा वास्तविकता बुझ्न जरुरी हुन्छ भन्नै विज्ञप्ति जारी गर्नुभएको थियो । विज्ञप्तिमा भनिएको छ –‘मेयर भीम पराजुली त्यस ठाउँमा हुनुहुन्न थियो । हल्लाको भरमा बढेको नकारात्मक शैली नै आजको दिनमा बिडम्बना हो । राजनीति गर्न खोज्छु र नेतृत्व गर्छु भन्नेको हालत पनि देखियो ।’

यता घटनाका विषयमा प्रतिक्रिया दिँदै मेयर पराजुलीले भने आफू घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गर्नुभएको छ । उहाँले कांगे्रसको नजिकिँदै गरेको चुनावमा आफूलाई बदनाम गर्न गलत प्रचार गरिएको बताउनुभयो । महानगरपालिकाले कुनै पनि नागरिकहरूलाई कोरोना विरूद्धको खोप नलगाएको र खोप लगाउन महानगरपालिकाबाट कुनै स्वास्थ्यकर्मी पनि नगएको उहाँले प्रष्ट पार्नुभयो । आफू संलग्न नभएको घटनामा जोडेर आफू विरुद्ध युवाहरूले प्रदर्शन गरेको पराजुलीको भनाइ थियो । घटनाको विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत व्यापक विरोध भएपछि पराजुलीले विज्ञप्ति निकालेर घटनास्थलमा आफू उपस्थिति नरहेको प्रस्टीकरण दिनुभएको छ ।