झुटो विवरण दिई नागरिकता बनाउने भारतीय प्रक्राउ

140
Shares

वीरगन्ज, (नेस) ।

पर्सा जिल्लामा झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाई नगरपालिका–२ कै ५१ वर्षीय धुरुपप्रसाद पटेल रहेका छन् ।

भारतीय नागरिक सीताले झुटो विवरण पेस गरी नागरिकता लिएको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सीता र धुरुपलाई वीरगन्ज–१३ श्रीपुरबाट बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । प्रहरीले नियन्त्रणमा लिएर सीताको ब्याग खानतलाशी गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० साल पुस ११ गते जारी भएको नागरिकता प्राप्त नंबर ३४–०१–७०–१०३५२ को नागरिकता बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जनाउनुभयो । प्रहरीले सीताबाट बरामद भएको नागरिकताबारे अुसन्धान गर्दा झुटो विवरण पेस गरेको पुष्टि भएपछि नागरिकता बनाउन नक्कली बुबा भनेर सनखात गरेका धुरुपलाई पनि बुधबार नै नियन्त्रणमा लिइएको खनाल बताउनुहुन्छ ।

भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी कविताकुमारी पटेलको नामबाट २०७० साल पुस ११ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिइन् । नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नी छोरी कविता पटेल भनेर सनाखत गरेका थिए ।

दुवै जनालाई नागरिकतासम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो ।