बालुवामा पानी : लाखौं खर्चेर मर्मत गरेको सडक जस्ताकोत्यस्तै

420
Shares

सञ्जय कार्की, रौतहट ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले राजमार्गको खाल्टाखुल्टी मर्मत गरेको केही महिनामा नै भत्किने गरेको छ । तीन आर्थिक वर्षयता मात्रै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मर्मतको नाममा ५० लाख खर्च गरे पनि सडकको दर्जनौं स्थानमा तत्कालै खाल्टाखुल्टी हुने गरेका छन् ।

चन्द्रपुर नगरपालिकाअन्तर्गत धन्सार–वागमती सडक खण्डको २७ किलोमिटर सडकको खाल्टाखुल्टी वर्षैपिच्छे मर्मत गरिँदै आए पनि केही दिनमा नै जस्ताकोत्यस्तै हुने गरेको छ । मर्मतको नाममा धनराशी खर्च गरे पनि सडकको दुरावस्था उस्तै रहनाले राजमार्गमा चल्ने सवारी साधनको गतिको सन्तुलन नमिल्दा दुर्घटनाको दरसमेत बढेर गएको छ । मर्मत गरेको खाल्टाखुल्टी पुनः भत्कनुमा सडकको भारवहन क्षमता कमजोर रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश केशरीले बताउनुभयो । सडक जीर्ण भएकाले जति मर्मत गरे पनि उप्कने गरेको उहाँको भनाइ रहेको छ ।

क्रसरको चिप्सलाई इमोल्सन अलकत्रा घोलेर पुरेको खाल्टोमा राजमार्गमा चल्ने सवारीसाधनबाट थिच्ने कार्य भइरहेको छ । चिप्समा इमोल्सन अलकत्राले खाल्टो पुर्दा माथिबाट रोलर लगाउनुपर्नेमा त्यसो नगरिकनै त्यतिकै छाडिदिने गरेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाल्टाखुल्टी मर्मत गर्दा परिणाम र मापदण्डअनुसार नगर्दा चाँडै भत्कने गरेको स्थानीय नवराज देवकोटाले बताउनुभयो । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश केशरीले इमोल्सनबाट मर्मत गरिएको सडक सामान्य वर्षामा समेत उप्कने गरेको स्वीकार गर्नुभयो ।

पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको जिम्मा विश्व बैंकले लिइसकेकाले सडक विस्तारको क्रममा सडकका साथै साना पुल भत्काएर नयाँ“ बनाउने र ठूला पुल थप्ने योजना रहेको उहाँ बताउनुहुन्छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मजदुर लगाएर आफैं मर्मत गरेको सडक चाँडै भत्कनु दुर्भाग्यपूर्ण रहेको स्थानीयको भनाइ छ ।